बैंक खाता र वालेट बीच प्रति महिनामा १० लाखसम्म कारोबार गर्न सकिने


नेपाल राष्ट्र बैंकले मोबाइल बैंकिङ मार्फत हुने कारोबारको सीमा बढाएको छ । बैंकले बैंक खाता र वालेट बीचको कारोबार सीमा शतप्रतिशत बढाएर प्रति महिना १० लाख रुपैयाँ पुर्याएको हो ।

राष्ट्र बैंकले भुक्तानी प्रणाली सम्बन्धी एकीकृत निर्देशन जारी गर्दै बैंक खाताबाट वालेटमा र वालेटबाट अन्य बैंक खातामा रकम पठाउँदा प्रतिकारोबार ५० हजार रुपैयाँ, प्रतिदिन १ लाख रुपैयाँ र प्रतिमहिना १० लाख रुपैयाँ बनाएको छ । यसभन्दा अघि प्रतिकारोबार २५ हजार रुपैयाँ, प्रतिदिन १ लाख रुपैयाँ र प्रतिमहिना ५ लाख रुपैयाँको सीमा रहेको थियो ।

त्यसैगरी केन्द्रीय बैंकले एक रातासम्म वालेटमा बढीमा २५ हजार रुपैयाँसम्म मौज्दात राख्न पाइनेमा व्यवस्थालाई दोब्बर बनाउँदै ५० हजार रुपैयाँ कायम गरेको छ । नयाँ व्यवस्था अनुसार सो सीमाभन्दा बढी रहेको रकम अनिवार्य रुपमा ग्राहकको सम्बन्धित बैंक खातामा जम्मा हुने व्यवस्था मिलाउनु समेत केन्द्रीय बैंकले निर्देशन दिएको छ । संस्थागत ग्राहक र एजेन्ट बाहेक प्राकृतिक व्यक्तिको वालेटमा एक दिनमा बढीमा १० पटकसम्म मात्रै रकम जम्मा गर्न सकिनेछ ।

बैंक तथा वित्तीय संस्था तथा कार्ड जारी गर्न अनुमतिप्राप्त भुक्तानी सेवा प्रदायक संस्थाहरुले जारी गरेको एनएफसी कार्डमार्फत् प्रतिकारोबार अधिकतम ५ हजार रुपैयाँसम्मको विद्युतीय कारोबार गर्न सक्ने व्यवस्था गरेको छ । राष्ट्र बैंकले क्यूआर कोड स्क्यान मार्फत हुने भुक्तानीको सीमा प्रतिदिन २ लाख रुपैयाँ बनाएको छ । यसभन्दा अघि यस्तो कारोबारको सीमा एक लाख रुपौयँ मात्र थियो । साथै इन्टरनेट बैंकिङमार्फत् हुने भुक्तानीको सीमा पनि सत प्रतिशतले बढाएर प्रतिदिन २० लाख रुपैयाँ बनाइएको छ ।

केन्द्रीय बैंकले प्रिपेड कार्डबाट प्रतिकारोबार २५ हजार रुपैयाँ निकाल्न पाइने व्यवस्थालाई संशोधन गरी प्रतिकारोबार १० हजार रुपैयाँ, प्रतिदिन २० हजार रुपैयाँ र प्रति महिनामा २ लाख रुपैयाँको सीमा तोकेको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।