विकास बैंक र फाइनान्स कम्पनीले पनि क्रेडिट कार्ड जारी गर्न सक्ने


नेपाल राष्ट्र बैंकले विकास बैंक र फाइनान्स कम्पनीलाइ पनि क्रेडिट कार्ड जारी गर्न सक्ने व्यवस्था गरेको छ । केन्द्रीय बैंकले मंगलबार एकीकृत निर्देशन मार्फत विकास बैंक र फाइनान्स कम्पनीलाई डेविट, क्रेडिट र प्रिपेड कार्ड जारी गर्न सक्ने व्यवस्था गरेको हो ।

विकास बैंक तथा फाइनान्स कम्पनीहरुले लामो समय देखि क्रेडिट कार्ड जारी गर्न पाउनुपर्ने माग गर्दै आएका थिए ।

वाणिज्य बैंकलाई मात्रै क्रेडिट कार्ड जारी गर्न सक्ने व्यवस्थालाई संशोधन गर्दै केन्द्रीय बैंकले विकास बैंक र फाइनान्स कम्पनीलाई पनि थप गरेको हो ।

नेपाल राष्ट्र बैंकका अनुसार वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनी बाहेकका अन्य वित्तीय संस्थाले क्रेडिट कार्ड बाहेकका विद्युतीय भुक्तानी कार्ड मात्र जारी गर्न सक्नेछन् । फाइनान्स कम्पनी बाहेकका भुक्तानी सेवा प्रदायक संस्थाले स्वदेशभित्र सञ्चालन हुने गरी स्वदेशी मुद्रामा प्रिपेड कार्ड मात्र जारी गर्न सक्नेछन् ।

तर, बैंक तथा वित्तीय संस्थाले प्राकृतिक व्यक्तिको नाममा एउटै प्रकारको एक भन्दा बढी कार्ड (डेबिट/क्रेडिट) जारी गर्न नपाउने केन्द्रीय बैंकले जनाएको छ । विद्युतीय भुक्तानी कार्ड जारी गर्दा संस्थाको सञ्चालक समितिबाट नीतिगत निर्णय, सुरक्षा तथा जोखिम व्यवस्थापन लगायतका व्यवस्था पूरा गर्नुपर्ने व्यवस्था केन्द्रीय बैंकले जारी गरेको निर्देशनमा उल्लेख छ ।

केन्द्रीय बैंकले विद्युतीय भुक्तानी कार्ड जारी गर्दा लाग्ने शुल्क, कार्डमार्फत कारोबार सञ्चालन गर्दा लाग्ने सेवा शुल्क, ब्याज तथा हर्जाना सम्बन्धी व्यवस्थाहरू ग्राहकसँगको सम्झौतामा स्पष्ट रूपमा उल्लेख गर्नुपर्ने व्यवस्था गरेको छ । कार्डको अवधि समाप्त हुनुभन्दा १५ दिन अघि ग्राहकलाई एसएमएस मार्फत जानकारी गराउन समेत केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।