बैंकहरुले बढेको ब्याजदर फिर्तालिन थालेपछि शेयरबजारमा उच्च सुधार

0
Shares

बैंक तथा वित्तीय संस्थाहरुले असोज महिनादेखि लागू हुनेगरी प्रकाशित गरेको नयाँ ब्याजदर धमाधम संशोधन गर्न थालेपछि शेयर बजारमा बढोत्तरी आएको छ ।

नेपाल राष्ट्र बैंकले मंगलबार बैंक तथा वित्तीय संस्थाहरुका प्रमुख कार्यकारी अधिकृतहरुलाई बोलाएर ब्याजदर बढाउने अस्वस्थ प्रतिस्पर्धा रोक्न तथा बढेको ब्याज फिर्ता गर्न निर्देशन दिएको थियो।

केन्द्रीय बैंकको निर्देशनपछि बुधबार केहि बैंक तथा वित्तीय संस्थाहरुले ब्याजदर संशोधन गरेको सूचना प्रकाशित गरेका छन् ।

बैंकहरुले प्रकाशित गरे निक्षेप र कर्जाको नयाँ ब्याजदर, कुन बैंकको कति ?

सिटिजन बैंक, मुक्तिनाथ विकास बैंक, गरिमा विकास बैंक, मञ्जुश्री फाइनान्स, प्रोग्रेसिभ फाइनान्स लगायतले असोज महिनादेखि लागू हुनेगरी बढेको ब्याजदर फिर्ता गरेका छन् । उनीहरुले पछिल्लो पटक प्रकाशित गरेका सूचना भुलबस सार्वजानिक भएको भन्दै पुरानै ब्याजदर लागु जनाएका छन् । अन्य बैंकहरुले पनि बढाएको ब्याजदर फिर्तालिने सम्भावना उच्च रहेपछि त्यसको सकारात्मक प्रभाव शेयर बजारमा परेको छ ।

बैंकहरुले बढेको ब्याज फिर्ता लिएपछि बुधबारको शेयर बजार खुलेदेखि निरन्तर बढ्दै एक बजेसम्ममा एक सय अंक माथि उक्लिसकेको छ । यो खबर तयार पार्दासम्म नेप्से सूचक १०२ अंकले बढेर २८१४ अंकमा उक्लिएको छ । यसअवधिमा २१४ कम्पनीको ३ अर्ब ३३ करोड बढीको कारोबार भएको छ । शेयर कारोबारमा आएका अधिकांस कम्पनीको शेयर मूल्य बढेको छ । विशेषगरी फाइनान्स र विकास बैंकका कम्पनीको शेयरमा लगानीकर्ताको उच्च आकर्षण देखिएको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।