तेह्रथुम । तेह्रथुमका गाउँबस्तीमा कुनै समय प्रमुख दलहन बालीका रूपमा व्यापक रूपमा खेती गरिने भटमास अहिले विस्तारै हराउँदै गएको छ। एक दशकअघिसम्म बारीभरि देखिने भटमासका बोट पछिल्लो समय म्याङलुङ आसपासका क्षेत्रमा समेत फाट्टफुट्ट मात्रै देखिन थालेका छन्।
स्थानीय समुदायको खानपान र कृषि संस्कृतिसँग गहिरो सम्बन्ध रहेको भटमास पोषणका दृष्टिले पनि महत्त्वपूर्ण बाली मानिन्छ। यसमा प्रशस्त प्रोटिन पाइन्छ। भटमासको हरियो कोसा उसिनेर खाने तथा तरकारीका रूपमा प्रयोग गर्ने गरिन्छ भने पाकेको दाना भुटेर खानुका साथै परम्परागत रूपमा किनिमा बनाएर समेत प्रयोग गर्ने चलन छ। यसबाट तेलसमेत उत्पादन गर्न सकिन्छ।
म्याङलुङ बजार आसपासका सुक्खा, पानी नजम्ने र दोमट माटो भएका क्षेत्र भटमासखेतीका लागि अनुकूल मानिन्छन्। म्याङलुङ र तम्फुलालगायत क्षेत्रमा विगतमा भटमास प्रमुख बालीका रूपमा लगाइन्थ्यो। स्थानीयका अनुसार करिब एक दशकअघिसम्म यहाँका बारीबाट मुरीका मुरी भटमास उत्पादन हुने गरे पनि अहिले यसको उत्पादन निकै खुम्चिएको छ।
म्याङलुङ नगरपालिका–२ मेयङलुङ गाउँका मनी खापुङ खेती प्रणालीमा आएको परिवर्तन र रासायनिक मलको बढ्दो प्रयोगले भटमाससहित अन्य रैथाने बालीको उत्पादनमा असर परेको बताउँछन्।
“पहिले हाम्रो बारीमा भटमाससँगै अन्य रैथाने बाली पनि प्रशस्त हुन्थे,” उनले भने, “अहिले खेती गर्ने तरिका परिवर्तन भएको छ, रासायनिक मलको प्रयोग बढेसँगै पुराना बालीको उत्पादन पनि घट्दै गएको छ।”
भटमास मात्र नभई जिल्लामा परम्परागत रूपमा उत्पादन हुँदै आएका रैथाने जातका सिमी, विभिन्न प्रकारका दाल तथा कोदोको खेतीसमेत क्रमशः घटिरहेको स्थानीयको भनाइ छ।
म्याङलुङ नगरपालिका–२ की देवीमाया राईका अनुसार रैथाने बालीको खेती घट्दा त्यसको असर स्थानीय उत्पादनमा मात्र नभई परम्परागत खानपानमा समेत परेको छ।
“हाम्रा बाउबाजेले लगाउँदै आएका धेरै बाली अहिले खेतबारीमा देखिन छाडेका छन्,” उनले भनिन्, “बाली मात्र हराएको होइन, त्यससँग जोडिएको खानपान र परम्परा पनि विस्तारै हराउँदै गएको छ।”
म्याङलुङबाहेक तम्फुला र बिस्कुने क्षेत्रमा पनि भटमासखेतीमा कमी आएको छ। विगतमा भदौको समयमा हरियो कोसा लागेका भटमासका बोटले बारी ढाक्ने गरे पनि अहिले ती क्षेत्रमा समेत भटमासका बोट भेट्टाउन मुस्किल हुन थालेको स्थानीय बताउँछन्।
म्याङलुङ नगरपालिका–१० बिस्कुनेका किसान प्रेम पताङ्वाका अनुसार अहिले कतैकतै भटमासका बोट देखिए पनि विगतको तुलनामा उत्पादन अत्यन्तै न्यून छ। “पहिले भटमास हुने बारीमा अहिले मकै लगाउन थालिएको छ,” उनले भने।
कृषि ज्ञान केन्द्र तेह्रथुमका प्रमुख विशाल राईले पनि रासायनिक मलको प्रयोग हुने क्षेत्रमा भटमासको उत्पादन घटेको बताएका छन्। उनका अनुसार माटोको अवस्था, खेती प्रणालीमा आएको परिवर्तन तथा रासायनिक मलको बढ्दो प्रयोगजस्ता कारणले रैथाने बालीको उत्पादन प्रभावित भएको हुनसक्छ।
भटमासलाई दलहनसँगै तेलहन बालीका रूपमा पनि वर्गीकरण गरिन्छ। पोषणयुक्त यो बाली हरियो कोसा, पाकेको दाना, किनिमा तथा तेलका रूपमा प्रयोग गर्न सकिने भएकाले यसको उपयोग बहुआयामिक छ।
कुनै समय भटमास उत्पादनको केन्द्रका रूपमा चिनिएका म्याङलुङ आसपासका क्षेत्रमा अहिले स्थानीय माग धान्न बाहिरी क्षेत्रबाट भटमास ल्याउनुपर्ने अवस्था बनेको छ। स्थानीय उत्पादन निरन्तर घटेपछि बजारमा तराईबाट ल्याइएको भटमास खरिद गर्नुपर्ने बाध्यता आएको स्थानीय बताउँछन्।
कृषि विज्ञ तथा जानकारहरूका अनुसार रैथाने बालीलाई केवल कृषि उपजका रूपमा मात्र हेर्न मिल्दैन। यस्ता बाली स्थानीय समुदायको खानपान, संस्कृति, परम्परा र पहिचानसँग जोडिएका हुन्छन्। त्यसैले खेती घट्दै जाँदा बालीसँगै पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको स्थानीय ज्ञान, सीप र परम्परागत खाद्य संस्कृतिसमेत संकटमा पर्न सक्छ।
भटमासजस्ता लोपोन्मुख रैथाने बालीको संरक्षणका लागि स्थानीय जातको संरक्षण, किसानलाई उत्पादनमा प्रोत्साहन, बजारको सुनिश्चितता तथा परम्परागत ज्ञान र प्रयोगको प्रवर्द्धनमा विशेष ध्यान दिनुपर्ने आवश्यकता देखिएको छ। स्थानीय स्तरमै बीउ संरक्षण र उत्पादन बढाउने कार्यक्रम सञ्चालन गर्न सके हराउँदै गएका यस्ता बालीलाई पुनः खेती प्रणालीमा फर्काउन सकिने सम्भावना रहेको जानकारहरूको भनाइ छ। रासस





प्रतिक्रिया