शेयर बजार सूचक मापक नेप्से आइतबार ६१.२७ अंकले घटेको छ । कारोबारमा आएका सामुहिक लगानी कोषको उपसमुहगत सूचक बाहेक सबै १२ वटै सूचक घटेसँगै नेप्सेमा उच्च अंकको गिरावट देखिएको हो ।
बजारमा उच्च गिरावटले बजारमा रहेको लगानीकर्ताको सम्पत्ति ८५ अर्ब ७७ करोड ८० लाख रुपैयाँले घटेको छ । गत बिहीबार रहेको ३९ खर्ब ४७ अर्ब १५ करोड ७ लाख कुल बजार पूँजीकरण घटेर आइतबार ३८ खर्ब ६१ अर्ब ३७ करोड २७ लाख रुपैयाँमा झरेको हो ।
यसअघि घट्दो बजार गत साताको मंगलबारदेखि बढ्न थालेको थियो । नेप्सेको गिरावटसँगै आइतबार बजार सूचक २७५८.४८ बिन्दुमा झरेको छ । ठूला कम्पनीको कारोबार मापक सेन्सेटिभ इन्डेक्स पनि १०.७० अंकले घटेर ५१९.३६ बिन्दुमा झरेको छ ।
दिनभर २३३ वटा कम्पनीको एक करोड ४४ लाख ९४ हजार २६० कित्ता शेयर ६ अर्ब ५० करोड १ लाख १७ हजार ७८० रुपैयाँमा खरिद बिक्री भएको नेप्सेले जनाएको छ ।
कारोबारमा आएका १३ उपसमूहगत सूचकमध्ये फाइनान्स सर्वाधिक ५.८९ प्रतिशतले घट्दा जलविद्युत ४.३० प्रतिशत, ब्यापार, लगानी तीन प्रतिशत धेरै र होटल तथा टुरिजम्, विकास बैंक, निर्जीवन बीमा, अन्य, लघुवित्त, र जीवन बीमाको सूचक २ प्रतिशतभन्दा धेरैले घटेको छ । म्यूचुअल फण्डको सूचक मात्रै ०.२१ प्रतिशतले बढेको छ ।
आइतबार अरूण भ्याली हाइड्रोपावर कम्पनी लिमिटेडको सबैभन्दा धेरै कारोबार भएको छ । यसदिन ३३ करोड ९५ लाख ७३ हजार रूपैयाँको शेयर कारोबार भएको हो । फरवार्ड लघुवित्तको संस्थापक ३१ करोड ८८ लाख ९९ हजारको कारोबार भएको छ ।
यसदिन नेपाल बैंक, कामना सेवा विकास बैंक, नेशनल हाइड्रोपावर, मेगा बैंक, सिटिजन्स बैंक, नबिल बैंक, सानिमा बैंक, र युनाइटेड मोदी हाइड्रोपावरको शीर्ष दश ठूलो कारोबार भएको छ । दशौं ठूलो काराबार भएको युनाइटेड मोदीको १४ करोड ३८ लाखको शेयर खरीद बिक्री भयो ।

आइतबारको बजारमा मनकामना स्मार्ट लघुवित्तको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । यस दिन लघुवित्तको मूल्य १३१.७० रुपैयाँले बढेर १४४८.९० रुपैयाँ पुगेको छ ।
यस्तै मैलुङ्गखोला जलविद्युत कम्पनीको मूल्य ६.०३ प्रतिशत, सिटिजन्स म्युचुअल फण्डको ३.४० र सनराइज फस्टको इकाईमूल्य २.२१ प्रतिशतले बढेको छ । कामना सेवा विकास बैंकको मूल्य पनि करिब २ प्रतिशतले बढेको छ ।
यसदिन आइसिएफसी फाइनान्स कम्पनीका लगानीकर्ताहरू सबैभन्दा धेरै ८.९८ प्रतिशतका दरले गुमाएका छन् । फाइनान्सको मूल्य ७५ ले घटेर ७६० रुपैयाँमा झरेको छ ।
यसैगरी घलेम्दी हाइड्रोपावर, मल्टिपपर्स फाइनान्स, बेष्ट फाइनान्स, माउन्टेन हाइड्रो नेपाल, गुडविल फाइनान्स, सिंगटी हाइड्रोपावर, प्रोगेशिभ फाइनान्स, खानीखोला हाइड्रोपावर र पाँचथर पावरको शेयरमूल्य साढे ६ प्रतिशतभन्दा धेरैले घटेको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया