शेयर बजार सूचक मापक नेप्से सोमबार पनि उच्च अंकले घटेको छ । नेप्सेमा निरन्तर उच्च अंकको गिरावट आएसँगै नेप्से २ हजार ७०० बिन्दुभन्दा तल झरेको हो । गत साताको मंगलबार, बुधबार र बिहीबार नेप्सेमा सुधारको संकेत देखिएपछि यो साताको सुरुवातदेखि नै उच्च अंकले नेप्से घट्दा बजार सूचक दबाबमा परेको हो ।
सोमबार नेप्से २.६५ प्रतिशत अर्थात ७३.०५ अंकले घटेर २६८५ दशमलव ४१ बिन्दुमा बन्द भएको हो । ठूला कम्पनीहरुको कारोबार सूचक सेन्सेटिभ इन्डेक्स २.४९ प्रतिशत अर्थात १२.९४ अंकले घटेर ५०६.३३ बिन्दुमा झरेको छ ।
लाभांश सिजन कै समयमा नेपाल राष्ट्र बैंकले मार्जिन कर्जाको सीमा ४।१२ करोडमा सीमित पारेसँगै बजारमा त्यसको असर परिरहेको छ । पछिल्लो समय बैंक ब्याजदर बढेपछि बजारमा थप प्यानिक सेल बढेको छ ।
सोमबार ५ अर्ब १२ करोड ९ लाख ७३ हजार ९६ रुपैयाँ बराबरको शेयर कारोबार भएको नेप्सेले जनाएको छ । यसदिन कूल २२७ वटा कम्पनीको १ करोड ४ लाख ७८ हजार ६८ कित्ता शेयर ६७ हजार ५८७ वटा संख्यामा खरिद बिक्री भएको हो ।
नेप्से ७३ अंकले घट्दा लगानीकर्ताको शेयर बजारमा रहेको लगानी सम्पत्ति १ खर्ब २ अर्ब २६ करोड रुपैयाँले घटेको छ । आइतबार ३८ खर्ब ६१ ऋर्ब ३७ करोड २७ लाख रहेको कुल बजार पूँजीकरण सोमबार घटेर ३७ खर्ब ५९ अर्ब ११ करोड २३ लाख रुपैयाँमा झरेको हो ।

कारोबारमा आएका १३ वटै उपसमूहका सूचक राताम्ये बनेका छन् । सबैभन्दा धेरै फाइनान्स ४.५३ प्रतिशतले घटेको छ भने विकास बैंक ३.८१ प्रतिशत, निर्जीवन बीमा ३.६२ प्रतिशत र लगानी सूचक ३.१० प्रतिशतले घटेको छ । बैंकिङ्ग, होटल, जलविद्युत, अन्य, लघुवित्त, र जीवन बीमाको सूचक पनि २ प्रतिशतभन्दा धेरैले घटेको छ ।
सोमबार अरूण भ्याली हाइड्रोपावरको १५ करोड ४९ लाख ७१ हजार रूपैयाँको कारोबार भएको छ । युनाइटेड मोदी, हिमालयन डिष्टिलरी, नेपाल बैंक, नेशनल हाइड्रोपावर, अपि पावर, रिडी हाइड्रोपावर, अरुण काबेली पावर, डिप्रोक्स लघुवित्त र मेगा बैंकको शीर्ष दश ठूलो कारोबार भएको छ । दशौं ठूलो कारोबार भएको मेगा बैंकको १० करोड १८ लाख रुपैयाँको शेयर खरीद बिक्री भएको छ ।
स्टकका अनुसार सोमबार मनकामना स्मार्ट लघुवित्त र मैलुङ्गखोला जलविद्युत कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । गोर्खाज फाइनान्स ६.०८ प्रतिशत र मिर्मिरे लघुवित्त संस्थापक शेयरको मूल्य ४ प्रतिशतले बढेको छ ।
यस दिन गुडविल फाइनान्स कम्पनी लिमिटेडका लगानीकर्ताहरूले सबैभन्दा धेरै ७.८३ प्रतिशतका दरले गुमाएका छन् । युनाइटेड इदिमर्दी, नेपाल फाइनान्स, कालिका पावर, पोखरा फाइनान्स र नेपाल हाइड्रो डेभलोपरको मूल्य ७ प्रतिशतभन्दा धेरैले घटेको छ । समृद्धि फाइनान्स, सेन्ट्रल फाइनान्स, दिब्यश्वरी हाइड्रोपावर, र जानकी फाइनान्सको शेयरमूल्य पनि साढे ६ प्रतिशतभन्दा धेरैले घटेको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया