एचआईडिसिएलको अक्सन शेयर खरीद गर्ने बिहीबार अन्तिम दिन

0
Shares

हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडिसीएल) को अक्सन अर्थात लिलाम बढाबढको शेयर खरीद गर्ने बिहीबार अन्तिम दिन रहेको छ ।

कम्पनीले यसअघि जारी गरेको एक बराबर अनुपातको हकप्रदमा अवितरित ३२ लाख २९ हजार ७२४ कित्ता साधारण शेयर र ३ करोड ३० लाख कित्ता संस्थापक गरी ३ करोड ६२ लाख २९ हजार ७२४ कित्ता शेयर असोज ७ गतेदेखि लिलाममा ल्याइएको थियो ।

शेयर खरिदका लागि इच्छुक लगानीकर्ताले असोज १४ गते अर्थात आज बिहीबारसम्म शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् । बोलपत्र आवेदन फारम बिक्री प्रबन्धक ग्लोबल आइएमइ क्यापिटल नक्साल काठमाण्डौं तथा ग्लोबल आइएमई बैंकको शाखा कार्यालयहरु विर्तामोड, विराटनगर, जनकपुर, वीरगञ्ज, हेटौँडा, नारायणगढ, पोखरा, बुटवल, बाग्लुङ्ग, नेपालगंज, सुर्खेत, दाङ, धनगढी र महेन्द्रनगरबाट आवेदन दिन सक्नेछन् ।

शेयर खरिदका लागि इच्छुक व्यक्ति, संस्था वा कम्पनीले न्यूनतम मूल्य १०० रुपैयाँ वो सोभन्दा बढी मुल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ । साधारण शेयरका लागि न्यूनतम १०० कित्ता र संस्थापक समूहको शेयरका लागि कम्पनीको नियमावलीको नियम १० मा रहेको व्यवस्था अनुसार न्यूनतम १ करोड कित्ता शेयर खरीदका लागि आवेदन दिनुपर्ने कम्पनीले जनाएको छ ।

सबैभन्दा बढी रकम कबुल गर्नेले शेयर पाएपछि पनि शेयर बाँकी रहेको खण्डमा दोस्रो बढी मूल्य बोलकबोल गर्नेले शेयर पाउनेछन् । लिलामीमा आएको शेयर नसकिँदासम्म यहि प्रक्रियाबाट शेयर बाँडफाँड हुनेछ ।

एचआईडिसीएलले साउन ५ गतेदेखि भदौ ८ गतेसम्म चुक्ता पूँजी ११ अर्बको शतप्रतिशत अर्थात १ बराबर १ अनुपातमा ११ करोड कित्ता हकप्रद शेयर निष्काशन गरेको थियो। जसमा साउन ५ गतेदेखि भदौ ८ गतेसम्म आवेदन दिन सकिने थियो । कम्पनीले अवितरित शेयर लिलाम बढाबढमा बिक्री गर्न लागेको हो ।

उता स्वतन्त्र पूँजीबजार संघले कम्पनीको संस्थापकतर्फको शेयर लिलामीमा न्यूनतम १ करोड कित्ता शेयर खरीदका लागि आवेदन दिनुपर्ने व्यवस्था गरेको भन्दै लिलामी खारेज ीगर्न नेपाल धितोपत्र बोर्डमा बुधबार उजुरी दर्ता गराएको छ । संघका सचिव विनोद बजगाईँले उक्त उजुरी दर्ता गराएका हुन् ।

उजुरीमा कम्पनीले लिलामी मार्फत ठूलो रकम प्रिमियम प्राप्त गर्ने र लाभांश वितरण गर्नसक्ने अवस्था रहेकोमा केही सीमित व्यत्तिःहरुको मात्र पुहँच पुर्याउने गरी खोजीएको भन्दै लिलामी प्रकृया स्थगित गरी छानबिन गर्न माग गरिएको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १४ आश्विन २०७८, बिहिबार  १० : ५६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।