भदौमा ८० अर्ब रेमिट्यान्स भित्रियो, आप्रवाह दर ६% ले घट्यो

0
Shares

चालु आर्थिक वर्षको भदौ महिनामा मात्र करिब ८० अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । यो रकम साउन महिनाको तुलनामा धेरै भएपनि गत आर्थिक वर्षको भदौ महिनाको तुलनामा भने ६.३ प्रतिशतले थोरै हो ।

नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको साउन महिनामा ७५ अर्ब ९६ करोड रुपैयाँ रेमिट्यान्स आएको थियो । तर, चालु आवको दोस्रो महिना अर्थात भदौमा भने रेमिट्यान्स आप्रवाह करिब ८० अर्बले थपिइ १५५ अर्ब ३७ करोड रुपैयाँ पुगेको छ ।

चालु आर्थिक वर्षको भदौसम्ममा भित्रिएको रेमिट्यान्स गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६.३ प्रतिशतले थोरै हो । गत आर्थिक वर्षको भदौसम्ममा १६५ अर्ब ७३ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो । गत आवको सोही अवधिमा विप्रेषण आप्रवाह ८.१ प्रतिशतले बढेको थियो ।

चालु आवमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह ५.८ प्रतिशतले कमी आई १ अर्ब ३१ करोड रहेको छ । गत वर्ष यस्तो आप्रवाह २.६ प्रतिशतले बढेको थियो ।
चालु आवको दोस्रो महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या उल्लेख्य रुपमा वृद्धि भई ३८,४९२ पुगेको छ । गत आवको सोही अवधिमा यस्तो संख्या ९९.२ प्रतिशतले घटेको थियो ।

त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या २२,९७६ पुगेको छ । गत आवको भदौमा यस्तो संख्या ८६.५ प्रतिशतले घटेको थियो । चालु आवको भदौसम्ममा खुद ट्रान्सफर ६.४ प्रतिशतले कमी आई १७१ अर्ब ९२ करोड कायम भएको छ । गत आवको सोही अवधिमा यस्तो ट्रान्सफर ४.४ प्रतिशतले बढेको थियो ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।