धानबालीमा भएको क्षतिबारे अध्ययन गर्न सरकारले कार्यदल गठन गरेको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले गृह मन्त्रालयका सचिव टेकनारायण पाण्डेको संयोजकत्वमा संयोजकत्वमा कार्यदल गठन गर्ने निर्णय गरेको जानकारी दिए ।
कात्तिकमा भएको बेमौसमी वर्षासँगै आएको बाढी र डुबानबाट ठूलो क्षति भएपछि सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले कार्यदल गठन गरेको हो । कार्यदलले तीन दिनभित्र सरकारलाई प्रतिवेदन पेश गर्नुपर्नेछ ।
कार्यदलमा कृषि तथा पशुपंक्षी मन्त्रालयका सचिव, अर्थ मन्त्रालयका सचिव, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, संघीय मामिला तथा सामान् प्रशासन मन्त्रालय र राष्ट्रिय योजना आयोगका सचिवहरु सदस्य रहेका छन् ।
प्रारम्भिक अध्ययन अनुसार बेमौसमी वर्षाले मुलुकभर ८ अर्ब २६ करोड ८० लाख रुपैयाँको धानबालीमा क्षति पुगेको छ । सात प्रदेशमा २ लाख ८५ हजार ५०९ हेक्टरमा गरिएको धानबालीमा असर पुगेको हो । यसमध्ये ८५ हजार ५ सय ८० हेक्टर क्षेत्रफलको धानमा क्षति पुगेको छ ।
जसमा सबैभन्दा धेरै लुम्बिनी प्रदेशमा ४२ हजार ४२७ हेक्टरमा लगाइएको १ लाख ६१ हजार २२३ टन बराबरको ४ अर्ब ५१ करोड बराबरको क्षति पुगेको तथ्याङ्क छ । दोस्रो ठूलो क्षति भएको सुदूरपश्चिम प्रदेशका १८ हजार हेक्टर क्षेत्रफलमा लगाइएको ६८ हजार ४०० टन बराबरको १ अर्ब ९२ करोड मूल्यको धानबाली नष्ट भएको छ ।

यसैगरी प्रदेश १ को ७ हजार ४९२ हेक्टरमा लगाइएको २८ हजार ४६९ टन बराबरको ८० करोड मूल्यको, प्रदेश २ को ५ हजार ३५५ हेक्टरमा लगाइएको २० हजार ३५० टन बराबरको ५६ करोड, वाग्मती प्रदेशको ३ को ५३० हेक्टरमा लगाइएको २ हजार ६८ टन बराबरको ५ करोड ८० लाख र कर्णाली प्रदेशको १० हजार ५८४ हेक्टरमा लगाइएको ४० हजार २१९ टन बराबरको ३० करोड मूल्यको धानबाली नष्ट भएको छ ।
सबैभन्दा कम गण्डकी प्रदेशको १ हजार १९२ हेक्टरमा लगाइएको ४ हजार ५३० टन बराबरको १३ करोड मूल्यको धानबाली नष्ट भएको परम्भिक तथ्याङ्क रहेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया