ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेड (GILB) ले मंसिर २८ गते नवौँ वार्षिक साधारण सभा डाकेको छ ।
लघुवित्तको मंसिर ३ गते शुक्रबार बसेको सञ्चालक समितिको बैठकले मंसिर २८ गते पोखरास्थित होटेल पोखरा ग्रान्डमा बिहान १० बजे बोलाउने निर्णय गरेको हो ।
सभाले सञ्चालक समितिको बैठकले प्रस्ताव गरे अनुरुप चुक्ता पूँजीको २८ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव अनुमोदन गर्नेछ ।
यस्तै ग्लोबल आइएमई लघुवित्त र अन्य एक वा एकभन्दा बढी उपयुक्त लघुवित्त वित्तीय संस्थाहरु गाभ्ने, गाभिने तथा प्राप्ति गर्ने प्रयोजनका लागि आवश्यक कार्यहरु गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पारित गर्नेछ ।
सभाले गत आर्थिक वर्षको वार्षिक, आर्थिक लगायतका वित्तीय प्रतिवेदन पारित गर्ने, लघुवित्तको प्रबन्धपत्रको दफा ६ मा भएको पुँजी संरचनासम्बन्धी व्यवस्थाको खण्ड (ख) र (ग) मा भएको कम्पनीको चुक्ता पूँजी तथा जारी पुँजी वृद्धि गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
यस्तै सभाले संस्थापक समूह अन्तर्गत ग्लोबल आइएमई बैंकबाट प्रतिनिधित्व गर्ने सञ्चालकहरुको बारेमा विशेष प्रस्ताव पारित गर्नेछ।
साधारण सभा र लाभांश वितरण प्रयोजनका लघुवित्तले मंसिर १४ गते मंगलबार शेयर दाखिल खारेजी (बुकक्लोज) मिति तोकेको छ । यसअनुसार मंसिर १३ गते सोमबारसम्म नेप्सेमा शेयर कारोबार भई कायम शेयरधनीहरुले मात्रै साधारण सभामा भाग लिन तथा बैकले गत आर्थिक वर्षको नाफाबाट प्रस्ताव गरेको लाभांश प्राप्त गर्नेछन् ।
हाल लघुवित्तको चुक्ता पूँजी ४३ करोड १७ लाख १० हजार ४११ रुपैयाँ छ। बोनस शेयर वितरणपश्चात लघुवित्तको चुक्ता पूँजी ५५ करोड २५ लाख ८९ हजार ३२६ रुपैयाँ पुग्नेछ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया