प्राइभेट कम्पनीसँग कारोबार गर्दा पनि ‘केवाइसी’ बुझाउनुपर्ने !

0
Shares

दश लाख वा सोभन्दा बढीको शेयर खरिद गर्ने वा कारोबार गर्ने व्यक्ति वा संस्थाबाट कम्पनीले सम्पत्तिको स्रोत खुलाउनुपर्ने तथा तीनपुस्ते विवरण समेत राख्नुपर्ने भएको छ।

आगामी असोज १ गते बाट लागू गर्न लागिएको ‘सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धमा कम्पनीहरूलाई जारी गरिने निर्देशन, २०७६’को मस्यौदामा यस्तो व्यवस्था रहेको छ । कम्पनी रजिस्ट्रारको कार्यालयले तयार पारेको मस्यौदामा कुनै पनि कम्पनीले आफूसँग कारोबार गर्ने व्यक्ति वा संस्थाको पहिचान (केवाइसी) राख्नुपर्ने व्यवस्था गरिएको छ ।

त्यस्तै, शंकास्पद कारोबार, उच्च जोखिमयुक्त कारोबार र कम्पनीले असामान्य देखेको कारोबारसम्बन्धी विवरणसहितको प्रतिवेदन कम्पनी रजिस्ट्रारको कार्यालयमा पेस गर्नुपर्ने व्यवस्था गरिएको छ । कम्पनीले शंकास्पद कारोबारको पहिचान गर्ने प्रणाली नराखेमा कम्पनीलाई १० लाखदेखि एक करोडसम्मको जरिवाना वा कम्पनी नै खारेजसमेत गर्ने प्रस्ताव मस्यौदामा छ ।

एकैपटक २५ लाख वा पटक–पटक गरी वार्षिक एक करोडभन्दा बढीको कारोबार गर्ने, एकैपटक २५ लाखको वा वार्षिक एक करोडको सेयर खरिद गर्ने कारोबारलाई कम्पनीले असामान्य कारोबार मान्नुपर्ने मस्यौदामा उल्लेख छ ।

कारोबार गर्ने संस्था वा व्यक्तिको पहिचान नराखे, पहिचान गलत भए, शंकास्पद कारोबारको पहिचान गर्न नसके, उच्चपदस्थ व्यक्तिको पहिचान नगरेमा कम्पनीलाई १० लाखदेखि एक करोड रुपैयाँसम्मको जरिवाना वा कम्पनी खारेजीसम्मको प्रस्ताव निर्दे्शिकामा छ । तर यसको नीजि क्षेत्रबाट भने विरोध हुँदै आएको छ ।