बैंकहरुद्धारा बिहीबार साढे ३९ अर्ब एलएलएफ प्रयोग, कार्तिकमा सवा ७ खर्ब

0
Shares

बैंकिङ प्रणालीमा तरलता अभावको समस्या समाधान उन्मुख नहुँदा बैंकहरुले दैनिक तरलता व्यवस्थापन कै लागि उपयोग गर्ने स्थायी तरलता सुविधा (एसएलएफ) को प्रयोग अझै घट्न सकेको छैन ।

बिहीबार मात्रै बैंकहरुले दैनिक तरलता व्यवस्थापन कै लागि राष्ट्र बैंकबाट ३९ अर्ब ६४ करोड रुपैयाँ बराबरको स्थायी तरलता सुविधा प्रयोग गरेका छन् । बिहीबार १८ कारोबार मार्फत ३९ अर्ब ६४ करोड रुपैयाँ प्रयोग गरेका हुन् ।

मंगलबार ५४ अर्ब ५५ करोड रुपैयाँ बराबरको एसएलएफ उपयोग भएकोमा बुधबार घटेर १८ अर्ब ८७ करोडमा झरेको थियो । तर बिहीबार पुनः पौने ४० अर्ब बराबरको एसएलएफ उपयोग भएको राष्ट्र बैंकको तथ्याङ्क छ ।

बैंक वित्तीय संस्थामा नयाँ निक्षेप नथपिँदा तरलता अभावको जटिल बन्दै गएको छ भने कर्जा लगानी योग्य रकमको पनि संकट देखिन थालेको छ । मंसिर १४ गतेको तुलनामा १५ गते एक अर्ब निक्षेप बढ्दा कर्जा लगानी २ अर्ब रुपैयाँले बढेको छ ।

बैंकहरुले कर्जा लगानी ठप्प पारेको भएपनि निक्षेप बढ्न नसक्दा दैनिक तरलता व्यवस्थापनका लागि नै नेपाल राष्ट्र बैंकबाट ५ प्रतिशतदरको सापटी प्रयोग गर्नुपर्ने अवस्था छ ।

निक्षेप अभावका कारण बैंकहरुले तरलता व्यवस्थापनका लागि अन्तर बैंक कारोबार गर्न छोडेको नै महिनौं भैसकेको छ । अन्तर बैंक कारोबारमा लिने मात्र बैंकहरु भएपछि नेपाल राष्ट्र बैंकले प्रदान गर्ने स्थायी तरलता सुविधा तर्फ बैंक वित्तीय संस्थाहरु लागेका हुन् ।

बैंकहरुले उच्च दरमा राष्ट्र बैंकबाट सापटी लिई केन्द्रीय बैंककै व्यवस्थाहरुलाई पालना गर्दै आएका हुन् । बैंक वित्तीय संस्थाहरुले अनिवार्य नगद मौज्दात कायम गर्नका लागि नै चालु आर्थिक वर्षयता २० खर्ब १६ अर्ब ११ करोड २० लाख रुपैयाँ बराबरको स्थायी तरलता सुविधा प्रयोग गरेका छन् ।

बैंक तथा वित्तीय संस्थाहरुले साउनमा ५५ अर्ब ५५ करोड, भदौमा २ खर्ब ९६ अर्ब ७४ करोड, असोजमा ४ खर्ब ७० अर्ब ३८ करोड ५० लाख, कार्तिकमा ७ खर्ब २४ अर्ब ३७ करोड ५० लाखको स्थायी तरलता सुविधा प्रयोग गरेका छन् । मंसिरको १६ दिनमा बैंकहरुले ४ खर्ब ६९ अर्ब ६ करोड २० लाख रुपैयाँ बरावरको स्थायी तरलता सुविधा प्रयोग गरेको राष्ट्र बैंकले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १६ मंसिर २०७८, बिहिबार  १८ : ४२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।