एनआईसी एशिया र कुमारी बैंकको बोनसपछिको शेयरमूल्य समायोजन

0
Shares

नेपाल स्टक एक्सचेञ्जले आइतबार एनआईसी एशिया बैंक र कुमारी बैंकको शेयरमूल्य समायोजन गरेको छ । नेप्सेले यी दुबै बैंकले गत आर्थिक बर्षको मुनाफाबाट वितरण गर्न प्रस्ताव गरेको बोनसपछिको शेयर मूल्य समायोजन गरेको हो ।

गत आर्थिक वर्षको कमाईबाट लाभांश वितरण गर्न एनआईसी एशिया र कुमारी बैंकले आइतबार बुकक्लोज गरेका छन् । गत भदौ २६ गतेसम्म कायम शेयरधनीहरुले बैंकहरुले वितरण गर्ने लाभांश पाउनेछन्।

नेप्सेले एनआइसी एशिया बैंकको बोनस समायोजन गरी प्रतिकित्ता शेयरमूल्य ४०७ रुपैयाँ २७ पैसा कायम गरेको छ । एनआईसी एशियाले गत आर्थिक वर्षको मुनाफाबाट १० प्रतिशत बोनस शेयर र ११.०५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

बैंकको साधारण सभा आर्मी अफिसर्स क्लब, भद्रकाली काठमाडौंमा असोज १० गते बिहान ९ बजे सुरु हुनेछ । हाल बैंकको चुक्ता पूँजी ८ अर्ब ८३ करोड ४२ लाख छ । प्रस्तावित बोनस वितरणपछि पूँजी ९ अर्ब ७१ करोड ७६ लाख पुग्नेछ ।

कुमारी बैंक

त्यस्तै, कुमारी बैंकको बोनस समायोजन पछि शेयरमूल्य प्रतिकित्ता १८४ रुपैयाँ ५५ पैसा कायम भएको छ । बैंकले चुक्ता पूँजीको १० प्रतिशत बोनस र बोनसको कर प्रयोजनको लागि ०.५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

कुमारी बैंकले असोज ११ गते वार्षिक साधारण सभा बोलाएको छ । साधारण सभा नक्साल ब्यांकेट, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । हाल कुमारीको चुक्ता पूँजी ८ अर्ब ६८ करोड ५५ लाख छ । बोनस वितरणपछि पूँजी ९ अर्ब ५५ करोड ४१ लाख पुग्नेछ ।