शेयर बजारका लगानीकर्ता भन्दा कारोबारीहरु सक्रिय हुँदा नेप्से सूचकसँगै कारोबार रकममा गिरावट आएको छ ।
गत साताका तीन र यो साताको आइतबार समेत गरेको चार कारोबार दिनमा २३२ अंकले बढेको बजारमा नाफा बुक गर्नेहरु सक्रिय हुँदा सोमबार झण्डै ७० अंकले घटेको थियो । मंगलबार पनि गत साता नाफा बुकिङ्ग गर्नेहरु नै हाबी हुँदा सेयर बिक्रीको चाप पर्यो । जसले गर्दा नेप्से सूचकसँगै कारोबारमा रकममा गिरावट आयो। 
मंगलबार नेप्से सूचक २.६६ अंकले ओरालो लागेको छ । दिनभरी उतारचढाबपूर्ण रहेको बजार बन्द हुनेसमयसम्म आईपुग्दा २.६६ अंकले घटेर २५१८.९९ अंकमा झरेको छ । २३० कम्पनीको कारोबार भएको बजारमा ३ अर्ब १२ करोड ५५ लाख बराबरको कारोबार भयो ।
कोरोना अवधिमा निरन्तर बढेको नेप्से सूचक करिब ३२ सय अंकसम्म पुगेको थियो । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति मार्फत शेयर धितो कर्जामा सिङ्गल अब्लिगर लिमिट तोकि एक व्यक्तिले एक संस्थाबाट ४ करोड र एकाघरको परिवारले सबै संस्थाबाट कुल १२ करोड रुपैयाँ भन्दा धेरै कर्जा लिन नपाउने व्यवस्था ग¥यो । त्यसपछि निरन्तर घट्दो क्रममा रहेको नेप्से सूचक २२ सय ६१ अंक सम्म झरेको थियो ।
यो अवधिमा नेपाल राष्ट्र बैंकको नीति मात्र नभई वित्तीय प्रणालीमा देखिएको तरलता अभावको समस्याले पनि सेयर बजारलाइ असर ग¥यो । त्यो सँगै वित्तीय प्रणालीको निक्षेपको ब्याजदर समेत बढेपछि धितोपत्र बजारप्रति लगानीकर्ताको आकर्षणमा कमी आउन थालेको थियो ।
गत साताका पछिल्ला तीन दिन धितोपत्र बजारमा अस्वभाविक वृद्धि देखियो । तयसको कारण थियो, नेपाल राष्ट्र बैंकले स्थानीय तहकको खातामा रहेको सरकारी निक्षेपलाई ८० प्रतिशतसम्म निक्षेप गणना गर्न पाउने व्यवस्था गर्यो । त्यससँंगै केन्द्रीय बैंकका गभर्नर महाप्रसाद अधिकारीले थप पुनरकर्जा दिने बताएसँंगै शेयर बजारमा तरलता अभावको समस्या समाधान भएको हल्ला फैलिएको थियो । त्यसले पनि बजार सुधारमा योगदान गरेको स्पष्ट हुन्छ ।
वित्तीय प्रणालीको मुख्य समस्या उच्च आयातका कारण भन्दै सरकारले केही विलासी वस्तुहरुको आयातमा कडाइ गरेको थियो । सो कार्याका कारण पनि आयातको व्यापार गर्ने व्यापारीहरु सेयर बजारमा आएको विश्लेषण पनि नगरिएको होइन । यसले गर्दा पनि लगानीकर्ताले लगानी बढाएका थिए । तर, सुने जस्तो वास्तविकतामा नदेखिएपछि लगानीकर्ताको मनोबल कमजोर देखिएको हो ।
अधिकांश वाणिज्य बैंकहरुले घोषित लाभांशका लागि साधारण सभा आह्वान गरेको, कतिपयको सम्पन्न भइसकेको र कतिपयले बुकक्लोज समेत गरेकाले पनि लाभांशको सिजन सकिएकाले पनि लगानीकर्ताले बजार नकारात्मक हुनमा मद्दत गरेको हो । मंगलबार नेप्सेमा कारोबारमा आएका अधिकांस समुहगत परिसूचकहरु घटेका छन् ।











प्रतिक्रिया