
दीर्घकालीन रुपमा रहने विकास निर्माणका योजनाको स्थलगत अबलोकन गरी विवरण सङ्कलन गर्न राष्ट्रिय योजना आयोगको टोली बझाङ पुगेको छ ।
जिल्लामा रहेका दीर्घकालीन विकास निर्माणका कामलाई सङ्कलन गरी आगामी दिनमा सरकारलाई योजना बनाउन सहज गराउन टोलीले स्थलगत अवलोकन गरेको शनिबार आयोजित एक अन्तक्रिरिया कार्यक्रममा जानकारी दिइयो ।
आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेलको नेतृत्वको टोलीले बझाङको जनतालाई प्रत्यक्ष फाइदा पुग्ने विकास निर्माणका योजनालाई सङ्कलन गरेर सरकारले अगामी दिनमा बनाउने योजनामा त्यसलाई समेटिने जानकारी दिए ।
उनले जयपृथ्वी राजमार्गको जालेबगर, सेती नदीको कटानको सङ्कटमा रहेको र देवल बिमानस्थल, चैनपुरलगायत नदी किनारका बस्तीलाई तटबन्ध गर्न र जयपृथ्वी राजमार्गलाई नियमित सञ्चालन गर्न आवश्यक रहेको बताए ।
गत कात्तिक १ गतेदेखि तीन दिनसम्म आएको बेमौसमी वर्षा र बाढीका कारण जिल्लामा मानवीय क्षति हुनाका साथै जनधनको क्षति र विभिन्न सरकारी संरचनामा असर परेको थियो ।
भौगोलिकरूपमा अति बिकट बझाङमा ठूला विकास निर्माणका कार्यसमेत हुन नसकेकाले अगामी दिनमा यहाँबाट सङ्कलन गरिएका योजनाले प्राथमिकता पाउनुपर्ने, चीनलाई जोड्ने नेपालको सबैभन्दा छोटो मार्गको रुपमा रहेको ताक्लाकोट नाकालाई खोल्न सरकारको ध्यानार्कषण हुनुपर्ने र स्थानीय स्रोत र प्राकृतिक सम्पदाको समूचित प्रयोग गरिनुपर्नेजस्ता विषयमा स्थानीयवासीले जोड दिएका थिए ।






प्रतिक्रिया