लगानीकर्ताहरूलाई समस्याको जानकारी समयमै गराउन अर्थमन्त्रीको आग्रह

0
Shares

अर्थमन्त्री जनार्दन शर्माले लगानीकर्ताहरूलाई समयमै समस्याको जानकारी गराउन आग्रह गरेका छन् । 

आइतबार बानेश्वरस्थित लगानी बोर्डको कार्यालयमा भएको लगानीकर्ताहरूसँगको अन्तरक्रियामा उनले सो आग्रह गरेका हुन् । आयोजनाको निर्माण अवधि लम्बिनु भनेको लगानी बढ्ने र घाटा हुने बताउँदै उनले आयोजनामा भएका समस्याहरू समयमै जानकारी गराउन आग्रह गरेका थिए ।

‘एउटा आयोजनाको फाइल डेढ महिनादेखि रोकिएको भनेर भर्खर जानकारी गराउनुभयो’, उनले भने, ‘यस्तो जानकारी समयमै हामीलाई गराउनुहोला । यसले सरकारलाई सहजीकरण गर्न र समस्याको समाधान गर्न छिटो अनि सहज हुन्छ ।’ फाइल नै अड्किँदा आयोजनाको समयावधि लम्बिने र घाटा हुने भन्दै उनले समय नै सबैभन्दा ठूलो पुँजी भएको बताए ।

‘प्रोजेक्टको समय बित्ने भनेको हाम्रो लगानी बढ्ने हो । अर्को ढङ्गले भन्ने हो भने हामीलाई घाटा हुने हो । व्यवसायिक रूपले हेर्ने हो भने पनि समय बिलकुलै लम्ब्याउनु हुँदैन’, उशर्माले भने, ‘मुख्य पूँजी भनेकै समय हो ।’

नेपाललाई वैदेशिक लगानी आवश्यक रहेको बताउँदै मन्त्री शर्माले त्यसका लागि सरकारले पुराना लगानीकर्तालाई थप लगानी गर्न उत्प्ररेणा जगाउने तथा नयाँ लगानीकर्तालाई समेत लगानीका लागि वातावरण तयार गर्ने प्रतिवद्धता व्यक्त गरे ।

नेपालमा लगानीका प्रशस्त सम्भावनाहरू रहेको र त्यस्ता लगानीले मुलुकको विकासमा महत्वपूर्ण योगदान हुने भन्दै उनले सरकारले उचित सेवा सुविधाको व्यवस्था गर्ने आश्वासन समेत दिए ।

लगानी बोर्डको उपाध्यक्ष समेत रहेका मन्त्री शर्माले लगानी र आयोजनामा रहेका समस्या, अहिलेको अवस्था र समाधानका उपाय सहितको टिपोट बनाएर दिन बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टलाई निर्देशन पनि दिए ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: १९ पुस २०७८, सोमबार  १६ : १७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।