खुद्रा पैसाको अभाव टर्दै, १२ वर्ष पछि छापिएको सिक्कामा नेपालको नयाँ नक्सा

0
Shares

नेपाली बजारमा खुद्रा पैसाको अभाव टर्ने भएको छ । नेपाल राष्ट्र बैंकले केही दिनमा नै नेपाली बजारमा एक रुपैयाँ तथा दुई रुपैयाँ दरका नयाँ सिक्का ल्याउने भएपछि खुद्रा पैसाको अभाव टर्ने भएको हो ।

राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका प्रमुख रेवती प्रसाद नेपालका अनुसार तत्काल नेपालमा १७ करोड रुपैयाँ बराबरको एक रुपैयाँ तथा दुई रुपैयाँको सिक्का आएको छ । उनका अनुसार अहिले दुई रुपैयाँकोे ८ करोड रुपैयाँ बराबरको ४ करोड थान र एक रुपैयाँ बराबरको ९ करोड थान सिक्का ल्याइएको हो ।

उक्त सिक्का मध्य दुई रुपैयाँ बराबरको ४ करोड थान सिक्का मंगलबार नै बीरगंज आइसकेको छ भने एक रुपैयाँ दरको ९ करोड थान सिक्का भारत सम्म आइसकेको विभाग प्रमुख नेपालले जानकारी दिए । सबै सिक्का आइसकेपछि बजार पठाउने तयारी रहेको राष्ट्र बैंकले जनाएको छ ।

उक्त परिमाणका सिक्कामध्ये दुई रुपैयाँको बेलायतबाट र एक रुपैयाँको पोल्याण्डबाट ल्याईएको हो । विभागका प्रमुख नेपालमा अनुसार उक्त सिक्काहरुमा नेपालको नयाँ नक्सा राखिएको छ ।

बजारमा खुद्रा पैसाको अभाव, तोकिए भन्दा बढी शुल्क तिर्न बाध्य सर्वसाधारण

खुद्रा पैसाको अभावबाट सर्वसाधारण नागरिक ठगिन थालेपछि केन्द्रीय बैंकले बाह्र वर्षपछि नयाँ सिक्का बजारमा ल्याएको हो ।

बैंकले यस पटक एक रुपैयाँ दरका ३० करोड थान र दुई रुपैयाँ दरका २० करोड रुपैयाँ बराबरको १० करोड थान सिक्का छापेको हो । ति सिक्काहरु चरणवद्ध रुपमा ल्याइने विभागका प्रमुख नेपालले जानकारी दिए । बजारमा सिक्काको अभाव देखिन थालेपछि ४ वर्ष समय अवधिका लागि उक्त सिक्का बजारमा ल्याउने तयारी गरिएको हो ।

खुद्रा पैसाको अभाव टार्न ५० करोड रूपैयाँ बराबरको सिक्का छाप्दै राष्ट्र बैंक

यस अघि सन् २००९ मा ७४ करोड रुपैयाँ बराबरको सिक्का छापिएको थियो । जसमा एक रुपैयाँ दरका ५२ करोड र २ रुपैयाँ दरका २२ करोड थान सिक्काहरु छापिएका थिए ।

केही समय अघिदेखि बजारमा सिक्काको अभावका कारण देखाउँदै सार्वजनिक सवारी, मेडिकल, किराना पसल, तरकारी बजार लगायतमा उपभोक्ता ठगी गर्ने गरिएको पाइएको थियो ।

साझा यातायात नै यात्रु लुटमा सक्रिय, टिकट काटेरै तोकिएभन्दा बढी भाडा असुली

सिक्का छाप्दा कति खर्च हुन्छ ?

नेपाल राष्ट्र बैंकका अनुसार नेपालमा चलन चल्तिमा रहेका सिक्का छाप्न केन्द्रीय बैंकले सिक्काको अंकित मूल्यभन्दा बढी लागत तिर्ने गरेको छ । बैंकका अनुसार एक रुपैयाँ बराबरको सिक्का छाप्न १ रुपैयाँ ४० पैसा खर्च गर्नुपर्छ । त्यसैगरी २ रुपैयाँ बराबरको सिक्का छाप्न बैंकले २ रुपैयाँ ७३ पैसा खर्च लाग्छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।