खुद्रा पैसाको अभाव टार्न ५० करोड रूपैयाँ बराबरको सिक्का छाप्दै राष्ट्र बैंक

0
Shares

नेपाली बजारमा खुद्रा पैसाको अभाव देखिएसँगै नेपाल राष्ट्र बैंकले ५० करोड रुपैयाँ बराबरको सिक्का छाप्ने भएको छ ।

खुद्रा पैसाको अभावबाट सर्वसाधारण नागरिक ठगिन थालेपछि केन्द्रीय बैंकले बाह्र वर्षपछि एकैपटक ५० करोड रुपैयाँ बराबरको नयाँ सिक्का प्रचलनमा ल्याउने भएको हो ।

बजारमा खुद्रा पैसाको अभाव, तोकिए भन्दा बढी शुल्क तिर्न बाध्य सर्वसाधारण

राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका प्रमुख रेवती प्रसाद नेपालले १ रुपैयाँ दरको ३० करोड रुपैयाँ बराबरको ३० करोड थान र २० करोड रुपैयाँ बराबरको २ रुपैयाँ दरको १० करोड थान सिक्का छाप्न लागिएको नोटबजारलाई जानकारी दिए ।

विभागका प्रमुख नेपालका अनुसार मंसिरको २० गतेपछि बजारमा १ रुपैयाँ बराबरको १० करोड थान र २ रुपैयाँको ४ करोड थान सिक्का सर्कुलेसनमा आउनेछ । बजारमा सिक्काको अभाव देखिन थालेपछि ४ वर्ष समय अवधिका लागि उक्त सिक्का बजारमा ल्याउने तयारी गरिएको हो ।

राष्ट्र बैंकले चार वर्ष अवधिका लागि एकै पटक सिक्का छाप्ने गरेको छ ।

साझा यातायात नै यात्रु लुटमा सक्रिय, टिकट काटेरै तोकिएभन्दा बढी भाडा असुली

बाह्र वर्षपछि सिक्का छापिँदै

नेपाल राष्ट्र बैंकले बाह्र वर्षपछि एक रुपैयँ दरको ३० करोड थान र २ रुपैयाँ थानको १० करोड थान गरी कुल ५० करोड रुपैयाँको सिक्का छाप्न लागेको हो ।

यसअघि सन् २००९ मा ७४ करोड थान सिक्काहरु छापेको राष्ट्र बैंकले लामो समय सिक्का छापेको थिएन । सो समयमा छापिएको मौज्दात सिक्काहरु नै प्रचलनमा ल्याइँदै आइरहेको थियो । हाल मौज्दात सकिएपनि राष्ट्र बैंकले नयाँ सिक्का छाप्ने भएको हो ।

राष्ट्र बैंकको मुद्रा विभागका अनुसार सन् २००९ मा ७४ करोड रुपैयाँ बराबरको सिक्का छापिएको थियो । जसमा एक रुपैयाँ दरका ५२ करोड र २ रुपैयाँ दरका २२ करोड थान सिक्काहरु छापिएका थिए ।

सिक्का छाप्दा कति खर्च हुन्छ ?

नेपाल राष्ट्र बैंकका अनुसार नेपालमा चलन चल्तिमा रहेका सिक्का छाप्न केन्द्रीय बैंकले सिक्काको अंकित मूल्यभन्दा बढी लागत तिर्ने गरेको छ । बैंकका अनुसार एक रुपैयाँ बराबरको सिक्का छाप्न १ रुपैयाँ ४० पैसा खर्च गर्नुपर्छ । त्यसैगरी २ रुपैयाँ बराबरको सिक्का छाप्न बैंकले २ रुपैयाँ ७३ पैसा खर्च लाग्छ ।

पाँच भन्दा कम रुपैयाँका नोट विस्थापित, सिक्का मात्रै बजारमा

नेपाली बजारमा हाल पाँच रुपैयाँभन्दा कम अंकति दरका नोट चलन चल्तिबाट हराएका छन् । नेपाल राष्ट्र बैंकले लामो समय सानो दरको नोट प्रकाशनमा नल्याउँदा बजारबाट सानो रुपैयाँका नोट हराएका हुन् ।

प्रशस्त छापिँदा पाँच सात वर्षअघि बजारमा एक र दुई रुपैयाँका नोटहरु चलनचल्तिमा रहेका थिए । तर अहिले त्यस्ता नोटहरु बजारमा भेटिन निकै मुस्किल पर्ने गरेको छ ।

नोटहरुको सट्टामा सिक्का चलन चल्तिमा आउन लागेपछि साना दरका नोटहरु विस्तापित भएका हुन् ।

नेपाल राष्ट्र बैंकका अनुसार सन् २०१४ देखि यता एक रुपैयाँ र दुई रुपैयाँको नोट छापिएको छैन । एक र दुई रुपैयाँ मात्र हैन राष्ट्र बैंकले प्रचलनमा ल्याएको २५ रुपैयाँ तथा २५० रुपैयाँका नोटहरु पनि सन् २०१४ भन्दा यता छाप्न बन्द गरिएको छ ।

वषौं अघिदेखि छापिन बन्द भएका साना नोटहरुको सट्टामा राष्ट्र बैंकले सिक्काको प्रयोग गर्न प्रोत्साहन गर्दै आइरहेको छ । नोट भन्दा सिक्का छाप्न बढी खर्च लाग्ने भएपनि टिकाउको दृष्टिकोणले सिक्का लामो समयसम्म प्रयोग गर्न सकिने भएकाले राष्ट्र बैंकले सिक्का छपाइमा जोड दिँदै आइरहेको जनाएको छ ।

बजारमा एक र दुई रुपैयाँ दरका नोट बढीमा २ वर्ष सम्म टिक्ने गरेको छ तर एक र दुईका सिक्का ८ देखि १० वर्षसम्म टिकाउ हुने राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले जनाएको छ । छपाईमा केही खर्च बढी लागेपनि समयका दृष्टिकोणले लामो समय टिक्दा सिक्काको लागत कम पर्ने गरेको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।