एक दर्जन कम्पनीको ४ अर्ब १४ करोडको शेयर आउँदै, अधिकांस जलविद्युत

0
Shares

विभिन्न क्षेत्रका १२ कम्पनीको प्राथमिक तथा थप निष्कासन (आईपीओ/एफपीओ) बजारमा आउँदै छ ।  ती कम्पनीले सेयर निष्कासन अनुमतिका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिइसकेका छन् ।

तीमध्ये ८ वटा जलविद्युत् कम्पनी, ३ वटा अन्य र एक मर्चेन्ट बैंकिङ क्षेत्रका कम्पनी छन् ।  हाल सेयर निष्कासन अनुमति प्रक्रियामा रहेका कम्पनीमध्ये अधिकांशले स्थानीयवासी र बाँकीले सर्वसाधारणका लागि सेयर निष्कासन गर्न लागेको बोर्डले जनाएको छ ।

बोर्डको तथ्यांकअनुसार विभिन्न क्षेत्रका दर्जन कम्पनीले कुल ४ अर्ब १४ करोड ४८ लाख ५० हजार ६ सय रुपैयाँ बराबरको ४ करोड १४ लाख ४८ हजार ५ सय ६ कित्ता सेयर निष्कासनका लागि बोर्डमा आवेदन दिएका छन् ।

सेयर निष्कासनका लागि आवेदन दिएका जलविद्युत् क्षेत्रका कम्पनीमा सिंगटी हाइड्रो इनर्जी, शुभम् पावर, ग्रिनलाइफ हाइड्रोपावर, लिबर्टी इनर्जी कम्पनी, युनाइटेड इदिमर्दी एन्ड आरबी हाइड्रोपावर, मैलुङखोला जलविद्युत्, माउन्टेन इनर्जी नेपाल र शिव श्रीहाइड्रोपावरले बोर्डमा आवेदन दिएका हुन् ।

यस्तै अन्य क्षेत्रका नेपाल पुनर्बिमा, इमर्जिङ नेपाल र एनआरएन इन्फ्रास्टक्चर लिमिटेडको आवेदन पनि बोर्डमा दर्ता भएको छ । मर्चेन्ट बैंकिङ क्षेत्रबाट सीआईबीएल क्यापिटलले पनि बोर्डमा आवेदन दिएको छ ।

नेपालमा निर्माणको चरणमा धेरै जलविद्युत् कम्पनी रहेकाले पनि पछिल्ला दिनमा सेयर जारी गर्नेमध्ये धेरै जलविद्युत् कम्पनी देखिएका छन् । हाल सेयर बजारको कुल कारोबारमा जलविद्युत् समूहको हिस्सा औसत करिब ४ प्रतिशत मात्र छ ।

पछिल्ला वर्षमा सेयर बजारमा अपेक्षित रूपमा उत्पादनमूलक (वास्तविक)  क्षेत्रका कम्पनी भित्र्याउन नसकेको आरोप सरकार र नियामक निकायलाई लाग्दै आएको छ । जलविद्युत् कम्पनीको संख्या बढेसँगै सेयर बजारमा वित्तीय क्षेत्रका कम्पनीको प्रभुत्व घट्ने जानकारहरू बताउँछन् ।

आर्थिक वर्ष ०७५/७६ मा सेयर बजारमा ३५ अर्ब रुपैयाँ बराबरको प्राथमिक निष्कासन भएको छ । गत वर्षको तुलनामा कुल प्राथमिक सेयर निष्कासन ३४ प्रतिशतले कम हो । यो चालु आर्थिक वर्षमा आईपीओ, हकप्रद, एफपीओ, ऋणपत्र र सामूहिक लगानी कोषले निष्कासन गरेको कुल रकम हो । आर्थिक वर्ष ०७४/७५ मा कुल ५३ अर्ब रुपैयाँ बराबरको सेयर निष्कासन भएको थियो ।