
सरकारले नेपाल आयल निगमको कार्यकारी निर्देशक खुल्ला प्रतिस्पर्धाबाट छनौटका लागि दरखास्त आह्वान गरेको छ ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट गठित छनोट तथा सिफारिस समितिले आयल निगमको कार्यकारी निर्देशक पदमा खुल्ला प्रतिस्पर्धाका लागि आइतबार इच्छुकहरुबाट दरखास्त आह्वान गरेको हो ।
मन्त्रालयले सूचना प्रकाशित गर्दै कार्यकारी निर्देशक बन्न इच्छुकलाई २१ दिनभित्र गोप्य दरखास्त पेश गर्न भनेको छ । निगमको कार्य प्रकृतिसँग सम्बन्धित विषय वा प्रशासन, व्यवस्थापन, अर्थशास्त्र, इन्जिनियरिङ वा कानुनमा कम्तिमा स्नातक गरेको हुनु पर्ने छ ।
निगमको कार्यकारी निर्देशक बन्नका लागि अर्थशास्त्र, वाणिज्यशास्त्र, इन्जिनियरिङ वा व्यवस्थापनमध्ये जुनसुकै विषयमा स्नातकोत्तर पूरा गरेको हुनुपर्ने भनिएको छ । यस्तै कुनै संस्थाको व्यवस्थापकीय जिम्मेवारीमा कम्तिमा ५ वर्ष काम गरेको अनुभव हुनु पर्ने छ । ३५ वर्ष पूरा भई ६५ वर्ष ननाघेकोले कार्यकारी निर्देशकमा आवेदन दिनसक्ने बताइएको छ ।
हालका सुरेन्द्र पौडेल आयल निगमबाट तीन वर्षे कार्यकाल पूरा गरेर बाहिरिएपछि सरकारले नयाँ कार्यकारी निर्देशक नियुक्तिको प्रकृया अगाडि बढाएको हो । २०७५ सालमा कार्यकारी निर्देशकमा नियुक्त भएका पौडेलको तीनवर्षे कार्यकाल पुस २२ गतेबाट सकिएको थियो ।
छनोट सूचीमा परेका उम्मेदवारले छनौट समितिका अगाडि आफूले पेश गरेको व्यवसायिक कार्ययोजना तोकिएको मिति र समयमा प्रस्तुतिकरण (प्रिजेन्टेसन) समेत दिनुपर्नेछ ।
इच्छुक उम्मेदवारले शैक्षिक योग्यता, अनुभव, नेपाली नागरिकताको प्रतिलिपि, बायोडाटा, पासपोर्ट साइजको दुईप्रति फोटो र ५ हजार शब्दमा नबढ्ने गरी लेखिएको व्यावसायिक कार्ययोजना पेस गर्नुपर्नेछ। दरखास्त दस्तुर ५ हजार रुपैयाँ तोकिएको छ। पारिश्रमिक नेपाल सरकारबाट तोकिए बमोजिम हुनेछ।












प्रतिक्रिया