महालक्ष्मी विकास बैंकको २१.०५३ प्रतिशत लाभांश अनुमोदन हुँदै

0
Shares

महालक्ष्मी विकास बैंक लिमिटेडको आज ( पुस २५ गते) सम्पन्न हुने २० औं वार्षिक साधारण सभाबाट हालसम्मकै उच्च अर्थात २१.०५३ प्रतिशत लाभांश प्रस्ताव अनुमोदन हुँदैछ ।

बैंकको मंसिर १२ गतेको सञ्चालन समितिको बैठकले हाल कायम चुुक्ता पूँजीको आधारमा २० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.०५३ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको थियो ।

बैंकले लाभांश पारित गर्न आर्मी अफिसर्स क्लब भद्रकाली, काठमाडौंमा बिहान ११ बजे सभा बोलाएको छ ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस १३ गते एक दिन बुकक्लोज गरेको छ । बुकक्लोजको आधारमा पुस १२ गतेसम्म कायम सेयरधनीहरु मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् । हाल बैंकको चुक्ता पूँजी ३ अर्ब ३४ करोड २४ लाख २ हजार रहेको छ ।

सभाले गत आर्थिक वर्ष २०७७।७८ सम्मको वार्षिक प्रतिवेदनसहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै चालू आवको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारण समेत गर्नेछ ।

सञ्चालक निर्वाचन कार्यक्रम स्थगित

बैंकका सेयरधनीहरु गिरिराज पोखरेल र प्रमोद श्रेष्ठले उच्च अदालत पाटनमा निवेदन दिएपछि बैंकले सञ्चालक निर्वाचनको कार्यक्रम हाललाई स्थगित गरेको छ ।

बैंकले उक्त निवेदन उपर माघ ३ गते छलफल पेशी तोकिएकाले सो अवधिसम्म निर्वाचनको बाँकी काम कारवाही नगर्ने निर्णय गरिएको बताएको छ । उच्च अदालतको अन्तरिम आदेशलाई पालना गर्दै अर्को निर्णयपछि मात्र निर्वाचनको कार्यक्रम अघि बढ्ने पनि बैंकले जनाएको छ ।

आज बोलाइएको २० औं वार्षिक साधारण सभामार्फत संस्थापकतर्फको तीन जना र सर्वसाधारण तर्फको तीन जना गरी ६ जना सञ्चालकहरुको निर्वाचन गर्ने तयारी गरी कार्यक्रम सार्वजनिक गरेको थियो ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २५ पुस २०७८, आइतबार  ११ : २४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।