माघे संक्रान्तिका लागि ७ सय टन तरुलको आयात, सर्लाहीबाट ५०% धेरै

0
Shares

नेपालीहरुको अर्को चाड मकर संक्रान्ति (माघे संक्रान्ति) नजिकिएसँगै देशकै ठूलो तरकारी तथा फलफूल बजार कालिमाटीमा तरुल, पिँडालु, सखरखण्ड लगायतको माग बढेको छ ।

कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले उपलब्ध गराएको तथ्यांक अनुसार माघे संक्रान्तिका लागि अहिले तरुलको आयात तथा माग बढ्न थालेको हो ।

संक्रान्तिका दिन नेपाली प्रचलन अनुसार तरुल, पिँडालु, सखरखण्डा, तिलौरी लगायत विभिन्न परिकार खाने गरिन्छ । विशेषगरि संक्रान्तिको अघिल्लो दिन तरुल, पिँडालु आदी पकाएर माघे संक्रान्तिको दिन खाने प्रचलन रहेको छ । मकर संक्रान्ति पर्व नेपालीहरुले अन्य चाड पर्व सो सरह विशेष महत्वका साथ मनाउने गरेका छन् ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका सूचना अधिकारी विनय श्रेष्ठका अनुसार पुस महिना लागेपछि क्रमिक रुपमा तरुलको आयात बढेको छ । कालीमाटी बजारमा पुस महिनाको २५ दिनमा मात्रै ६६९.९७ टन तरुल, पिँडालु २१५.३२ टन तथा सखरखण्डा १३५.८६ टन आयात भइसकेको छ । माघे संक्रान्ती आउन चार दिन बाँकी रहेकाले आयात हुने क्रम बढ्दो क्रममा रहेको सूचना अधिकारी श्रेष्ठले बताए ।

कालीमाटीमा संक्रान्तिका लागि हात्तीपाइले, सेतो, पानी, वन, सिमल, घर, पातले र रातो लगायतका तरुल आउने गरेको छ । नेपाली बजारमा स्वदेशी तरुलको माग धेरै छ ।

उनका अनुसार पुस महिनाको पहिलो हप्ता तरकारी बजारमा ७०.८१४ टन तरुल, ४०.९७५ टन पिँडालु तथा ७.२५ टन सखरखण्डको आयात भएको छ । त्यसैगरी दोस्रो हप्ता आयात परिमाण बढेको छ । समितिले उपलब्ध गरेको तथ्यांक अनुसार दोस्रो हप्ता तरुल १०८.७४९ टन, पिँडालु ४९.२२३ टन र सखरखण्डा २४.१५ टन आयात भएको छ । आयातको क्रम बढ्दै तेस्रो हप्ता आइपुगदा तरुल १०५.०३५, पिँडालु ५९.३५ र सखरखण्डा ३५.०६ टन आयात भएको हो । चौथो हप्तामा ३४५.३८ तरुल, ६५.७८ टन पिँडालु र सखरखण्डा ६९.४ टन आयात भएको छ ।

अघिल्लो वर्षको पुस महिनामा १०५६.९७ टन तरुल २८७ दशमलव ९९ टन पिडालु तथा २३६.२३६ टन सखरखण्ड आयात भएको उनको जानकारी दिए ।

श्रेष्ठका अनुसार आयात भएको तरुल मध्ये ५० प्रतिशत भन्दा बढी तरुल सर्लाही जिल्लाबाट आएको हो । भने बाँकी नेपालका अन्य जिल्लाहरु सुनसरी, धादिङ, नवलपरासी, मकवानपुर, चितवन, बारा, पर्सा र लगायतका जिल्लाहरुबाट आउने गरेकाे समितिको तथ्याङ्क छ ।

यी कन्दमुलको अहिले बजारमा जति माग हुन्छ, त्यसलाई स्वदेशी उत्पादनले नै धान्ने व्यवसायीहरु बताउँछन् । माघे संक्रान्तिमा केही दिन अगाडिदेखि नै तरुल, पिँडालु, सखरखण्ड लगायतको माग बढी हुने गरेको छ । यी कन्दमुलहरु यो समय बाहेक अन्य समयमा भने कमै बिक्री हुने गर्दछ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

 

प्रकाशित मिति: २६ पुस २०७८, सोमबार  १९ : २८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।