अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साल्ट ट्रेडिङ कर्पोरशन मल बिक्री केन्द्र सल्यानका इन्चार्ज तत्कालीन जुनियर सहायक विरुद्ध भ्रष्टाचारको आरोप पत्र दायर गरेको छ ।
आयोगले तत्कालीन जुनियर सहायक विजय कुमार पासवान विरुद्ध १८ लाख ७६ हजार ६६४ रुपैयाँ भ्रष्टाचार गरेको अभियोगमा मुद्धा दायर गरेको हो ।
पासवानले मलको नियमानुसार हिसाब किताब नराखी सार्वजनिक सम्पत्तिको हिनामिना गरी भ्रष्टाचार गरेको भन्ने उजुरी परेपछि आयोगले अनुसन्धान सुरु गरेको थियो ।
अनुसन्धानका क्रममा उनले साल्ट ट्रेडिङको आधिकारिक खातामा रकम दाखिला नगरी आफुखुशी आफ्नो व्यक्तिगत खातामा रकम जम्मा गरी उक्त रकम बराबरको रासायनिक मल हिनामिना गरेको आयोगले जनाएको छ ।
उनी विरुद्ध उक्त रकम बिगो कायम गरी सजाय हुन तथा हिनामिना भएको सो रकम पासवानबाटै असुल गर्न माग गर्दै आयोगको ऐन, २०४८ को दफा १८ र ३५ एवं भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ बमोजिम बुधबार विशेष अदालत काठमाडौंमा आरोप–पत्र दायर गरिएको हो ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया