शोधनान्तर स्थिति १९५ अर्बले घाटामा, मंसिरमा मात्र ४५ अर्ब घाटा थपियो


चालु आर्थिक वर्षको मसंसिर महिनामा मात्र करिब ४५ अर्ब शोधनान्तर स्थिति घाटामा रहेको छ । यो घाटा कात्तिक महिनाको तुलनामा भने थोरै हो । कात्तिक महिनामा मात्र यस्तो घाटा ७४ अर्ब २४ करोड रहेको थियो । प्रत्यक्ष वैदेशिक लगानी आएको ५७ प्रतिशको सुधारले कात्तिक महिनाको तुलनामा मंसिरमा शोधनान्तर घाटामा कमी आएको हो ।

चालु आर्थिक वर्षको मंसिर महिनामा शोधनान्तर स्थिति १९५ अर्ब १ करोडले घाटामा रहेको छ । गत आवको सोही अवधिमा शोधनान्तर स्थिति १०६ अर्ब ४८ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा गत आवको सोही अवधिमा ८९ करोड ६५ लाखले बचतमा रहेको शोधनान्तर स्थिति चालु आवको मंसिरमा १ अर्ब ६४ करोडले घाटामा रहेको छ ।

चालु आवको मंसिरसम्ममा चालु खाता ३०० अर्ब ६९ करोडले घाटामा रहेको छ । गत आवको सोही अवधिमा चालु खाता २३ अर्बले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १९ करोड ६६ लाखले घाटामा रहेको चालु खाता मंसिरसम्ममा २ अर्ब ५२ करोडले घाटामा रहेको छ ।

चालु आवको मंसिरसम्ममा पुँजीगत ट्रान्सफर २.४ प्रतिशतले कमी आई ४ अर्ब ६४ करोड कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी ५७.० प्रतिशतले वृद्धि भई ७ अर्ब ७ करोड रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा पुँजीगत ट्रान्सफर ४ अर्ब ७५ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी ४ अर्ब ५० करोड रुपैयाँ रहेको थियो ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।