महानगरीय ट्राफिक महाशाखाले ट्राफिक नियम उल्लंघन गरेबापतको जरिवाना सजिलै सँग तिर्न मिल्ने व्यवस्था सुभारम्भ गरेको छ ।
महाशाखाले प्रभु–पेको ‘कि अस्क’ मेसिनको प्रयोग गरि भुक्तानी गर्न सकिने व्यवस्थाको सुरुवात गरेको हो ।
उक्त सेवा महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशी र प्रभु–पेका अध्यक्ष कुसुम लामाले बुधबार संयुक्त रूपमा किअस्क मेसिन उद्घाटन गरेका हुन् ।
महाशाखाले सुरुवाती चरणमा ट्राफिक नियम उल्लंघनकर्ताले जरिवाना तिर्न ग्लोबल आईएमई बैंकमा गई भौचरको आधारमा ट्राफिक जरिवाना तिर्ने गरेको थियो ।
पछिल्लो समय ट्राफिक प्रहरी सेवालाई प्रविधीमैत्री बनाउदै विभिन्न ६४ वटा बैंकको मोबाइल बैंकिङ, डिजिटल वालेटका १४ वटा जरिवाना भुक्तानी सेवा प्रदायक सँस्थाहरु र क्यूआर पेमेन्टबाट समेत जरिवाना तिर्न सकिने प्रणाली सञ्चालनमा छन् ।
कार्यक्रममा बोल्दै एसएसपी जोशीले ट्राफिक सेवालाई थप प्रविधिमैत्री बनाउदै आमसेवाग्राहीलाई ट्राफिक जरिवाना तिर्न सरल एव सहज होस् भन्ने उद्देश्यले यो मेसिनको जडान गरेको बताएका छन् ।
उनले किअस्क मेसिनमा सिधै नगद हालेर जरिवाना भुक्तानी गर्न सकिने बताउँदै यसले बैंकमा गएर लामो समय लाइनमा बस्ने झन्झटबाट मुक्त हुने र समयको समेत वचत हुने धारणा व्यक्त गरे ।
ट्राफिक महाशाखाले जरिवाना भुक्तानी गर्ने प्रविधिलाई क्रमशः परिस्कृत गर्दै आजैदेखि मेसिनमा नगद प्रयोग गरी जरिवाना तिर्न सकिने सेवा सुरु गरेको जानकारी दिएको छ ।
हाल ट्राफिक महाशाखा सहित उपत्यकामा ३०९ स्थानमा प्रभु–पेको किअस्क मेसिनबाट ट्राफिक जरिवाना तिर्न सकिने र थप सहकार्य गरि अन्य ट्राफिक प्रहरी कार्यालयहरुमा समेत जडान गर्दै जाने प्रभु पे का अध्यक्ष लामाले बताए ।
कसरी तिर्ने मेसिनबाट जरिवाना ?
सर्बप्रथम प्रभु–पेको किअस्क मेसिनमा रहेको ट्राफिक प्रहरीको लोगोमा क्लिक गरि स्क्रिनमा देखिने चिट नम्बर र आर्थिक बर्ष टाइप गरि नेक्सट बटन थिच्नु पर्दछ ।
त्यसपछि देखिने चिट नम्बर लगायतको सुचना चेक गरि नेक्सट बटनमा थोचेर तिर्नुपर्ने रकम मेसिनमा हालेपछि भुक्तानी गर्न सकिन्छ ।
भुक्तानी सफल भए पश्चात प्रिन्ट भएको रसिद सहित ट्राफिक कार्यालयमा गई आफ्नो कागजपत्र लिन सकिने महाशाखाका प्रवक्ता एवं एसपी सञ्जीव शर्मा दासले बताएका छन् ।
कोरोना संक्रमणको समयमा ट्राफिक कार्यालय र बैंकमा हुने अनावश्यक भिडभाडमा कमी आउने र कोरोना संक्रमणको जोखिमलाई न्यूनीकरण गर्नसमेत यो मेसिनले महत्वपूर्ण भूमिका खेल्ने महाशाखाले दाबी गरेको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया