आईएमएफले दियो शुन्य ब्याजदरमै ४७ अर्ब सहुलियतपूर्ण ऋण

0
Shares

अन्तर्राष्ट्रिय मुद्रा कोष आईएमएफ ले नेपाललाई करिब ४७ अर्ब रुपैयाँ सहुलियतपूर्ण ऋण शुन्य ब्याजदरमै दिने भएको छ ।

कोषले नेपालको लागि २८२.४२ मिलियन एसडीआर (३९५.९ मिलियन अमेरिकी डलर करिब रू.४६ अर्ब ७० करोड) बराबरको शून्य ब्याज दरको सहुलियतपूर्ण ऋण स्वीकृत गरेको छ ।

उक्त ऋण सहायता मध्ये करिब १३ अर्ब रुपैयाँ (११० मिलियन अमेरिकी डलर) बराबरको रकम पहिलो किस्ता वापत प्राप्त हुनेछ । उक्त रकम एक हप्ता भित्रै नेपालले पाउने र बाँकी रकम बिभिन्न किस्तामा क्रमश प्राप्त हुने गरि स्विकृत भएको अर्थमन्त्रालयले जनाएको छ ।

कोभिड १९ का कारण जनस्वास्थ्य र आर्थिक गतिविधिमा परेको नकरात्मक प्रभाव कम गर्न, विपन्न वर्गलाई संरक्षण गर्न, समष्टिगत आर्थिक तथा वित्तीय स्थिरता कायम गर्न र दीगो विकास तथा गरिबी निवारण सम्बन्धी नेपालले लिएको सुधारका काम र प्रयासलाई निरन्तरता दिन सहयोग पुग्ने विश्वास लिइएको छ ।

अन्तर्राष्ट्रिय मुद्रा कोषबाट प्राप्त हुने उक्त सहायता नेपालले आवश्यकता र प्रथामिकताका आधारमा बजेटमा समावेश गरि खर्च गर्ने भएको छ । कोष सँग भएको प्रारम्भिक छलफलमा चालु आर्थिक वर्षको बजेटमा उक्त रकमलाई बजेटको स्रोत कायम गरिने मन्त्रालयले जनाएको छ ।

कोभिडका कारण उत्पन्न असहज परिस्थितिलाई सामना गर्न नेपाल सरकारले अख्तियार गरेको नीति र प्रयासको अन्तर्राष्ट्रिय मुद्रा कोषको बोर्डका कार्यकारी निर्देशकहरुले उच्च प्रशंसा गर्दै परिपूरकको रुपमा उक्त सहयोग प्रदान गरेको जानकारी गराएका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।