साताको पहिलो कारोबार दिन नेप्सेमा ६९ अंकको उछाल देखिएको छ ।कारोबारमा आएको सबै उपसमुहगत सूचकमा हरियाली छाउँदा नेप्सेमा उच्च अंकको वृद्धि देखिएको हो ।
पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुमा लगानीयोग्य पूँजी बढ्दै गएपछि बैंकहरुले माघ महिनाका लागि ब्याजदर बढाएका छैनन् । बैंकिङ्ग प्रणालीमा रहेको तरलता अभाव हट्न थालेपछि सेयर बजारमा चमक छाएको हो । कोरोनाको तेस्रो भेरियन्ट ओमिक्रोनको जोखिम बढ्दै जाँदा समेत बजार वृद्धिमा टेवा पुगेको छ । संक्रमण बढ्दा लगानीका अन्य क्षेत्र संकुचित हुने र सेयर बजारमा लगानी एकिकृत हुने आंकलनका साथ लगानीकर्ताहरुले सेयर बजारमा लगानी बढाउन थालेका हुन् ।
आइतबार नेप्से ६९ अंकले बढेर २९२६.७४ बिन्दुमा पुगेको छ । आज २२९ कम्पनीको १ करोड ८२ लाख ५४ हजार ४२५ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ९ अर्ब ६७ करोड ६३ लाख १७ हजार ५९ रुपैयाँ पुगेको छ । गत बिहीबार ६ अर्ब ६६ करोड ९७ लाखको सेयर कारोबार भएकोमा आइतबार कारोबार रकम ३ अर्बले बढेको हो ।

कारोबारमा आएका उपसमुहगत सूचकमध्ये उत्पादनमुलक सूचक सर्वाधिक ५.६२ प्रतिशतले बढेको छ । कारोबारमा अरुण भ्याली हाइड्रोपावरको ३२ करोड ४६ लाख रुपैयाँको कारोबार भएको छ । अपि पावरको २७ करोड ६५ लाख, अपर तामाकोशीको २६ करोड १९ लाख, शिवम् सिमेन्ट्सको २३ करोड ८१ लाख र निफ्राको २३ करोड ७२ लाख बढीको कारोबार भएको छ ।
आज मध्यभोटेकोशीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । कम्पनीको सेयरमूल्य ९.९९ प्रतिशतले बढेर ४१७.१० रूपैयाँ पुगेको छ । यसैगरी हिमालयन डिष्टिलरी र सिभिल बैंकको सेयरमूल्य ८ प्रतिशत बढीले बढेको छ ।
यस दिन बोटलर्स नेपालको सेयरमूल्य सबैभन्दा धेरै ३.८२ प्रतिशतले घटेर १५ हजार ४० रुपैयाँमा झरेको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया