त्रिवि भन्सार कार्यालयद्धारा लक्ष्यको ११६ प्रतिशत राजश्व संकलन

0
Shares

त्रिभुवन विमानस्थल भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०७८।७९ को ६ महिना अवधिमा लक्ष्यको ११६ प्रतिशत राजश्व संकलन गरेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक महेश भट्टराईका अनुसार कार्यलयले साउन देखि पुससम्मा कूल १३ अर्ब ५६ करोड राजस्व सङ्कलन गरेको हो ।

यस अवधिको लागि सो कार्यालयलाई ११ अर्ब ७२ करोड राजस्व असुली लक्ष्य दिइएको थियो । कार्यालयलाई तोकिएको राजश्वको तुलनामा सङ्कलित राजस्व ११५.७० प्रतिशत हुन आउँछ ।

त्यसैगरी गत आ.व. २०७७।७८ को प्रथम ६ महिनाको तुलनामा कार्यालयले गरेको राजस्व असुली ६८.६० प्रतिशतले धेरै हो । गत आवको ६ महिनामा ८ अर्ब ४ करोड राजस्व असुली गरेको कार्यालयले चालु आवको यसै अवधिमा ६८.६० प्रतिशतले वृद्धि गर्दै १३ अर्ब ५६ करोड उठाएको हो ।

पछिल्लो अवधिमा विशेषगरी विदेशबाट आयात हुने वस्तुको भन्सार जाँचपास गर्दा मूल्याङ्कनमा गरिएको सुधार एवं यात्रुले ल्याउने सुन तथा सुनका गहना र मोबाइलको प्रभावकारी नियमनले गर्दा नै राजस्व असुलीमा यस किसिमको सफलता प्राप्त हुन सकेको प्रमुख भट्टराईले जानकारी दिए ।

साथै कर्मचारीको कार्यक्षमतामा अभिवृद्धि गर्नका लागि कार्यालयले आयोजना गरेका विभिन्न तालिमको कारणले पनि उनीहरूको कार्यसम्पादनमा बढोत्तरी हुँदै गएको कार्यालयले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: ३ माघ २०७८, सोमबार  १२ : १४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।