
बुद्धभुमी नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडको सोमबार नियमित समयमा सेयर कारोबार हुन सकेन ।
आज बिहान स्पेशल प्रि ओपन सेसन (साढे १० देखि पौने ११ बजे) को समयमा कम्पनीको धितोपत्रको म्याचिङ्ग हुने नसकेपछि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) नियमित कारोबारमा आउन नसकेको हो ।
नेप्सेमा नियमित कारोबार हुनका लागि कुनैपनि कम्पनीले दोस्रो बजारमा सेयर कारोबारका लागि नेप्सेमा धितोपत्र सूचीकृत गरेपछि त्यसको दोस्रो कारोबार दिनमा स्पेशल प्रि ओपन सेसन मार्फत बिक्री र खरीदकर्ताले राखेको कारोबार आदेश म्याचिङ्ग हुन आवश्यक पर्दछ । यो नभएको खण्डमा जुन दिन बिक्रीकर्ता र खरीदकर्ताको आदेश स्पेशल प्रि ओपन सेसनमा म्याच हुन्छ सोही दिनदेखि नियमित कारोबार समयबाट कम्पनीको सेयर कारोबार हुन सम्भव हुन्छ ।
यसअनुसार बुद्धभुमी नेपाल हाइड्रोपावरको पनि मंगलबार स्पेशल प्रि ओपन सेसन कारोबार आदेश म्याचिङ्ग भएमा मंगलबारदेखि नत्र जुन दिन म्याचिङ्ग सम्भव हुन्छ सोही दिनदेखि मात्र कारोबार सुचारु हुनेछ ।
दोस्रो बजारमा कारोबारका लागि बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडले माघ २ गते आइतबार कुल ४० लाख कित्ता सेयर नेप्सेमा सूचीकृत गरेको थियो । कम्पनीले दास्रो बजारमा कारोबारका लागि बिएनएचसी (BNHC) सिम्बोल पाएको छ । यहि कारोबार संकेतमा नेप्सेमा हाइड्रोपावरको सेयर कारोबार खुल्नेछ ।
अधिकतम २५२ रुपैयाँसम्म कारोबार खुल्ने
कम्पनीको धितोपत्रको दोस्रो बजारमा प्रतिकित्ता २५२ रुपैयाँसम्ममा कारोबार खुल्नेछ ।
पछिल्लो परिष्कृत वित्तीय विवरण अनुसार कम्पनीको प्रतिसेयर नेटवर्थ ८४.०५ रूपैयाँ रहेको छ । यस आधारमा कम्पनीको दोस्रो बजारमा कारोबारका लागि नेप्सेले ८४.०५ रूपैयाँदेखि अधिकतम २५२.१५ रुपैयाँसम्म ओपनिङ रेञ्ज प्रदान गरेको छ ।
नेप्सले पहिलो पटक सेयर कारोबारका लागि परिष्कृत वित्तीय विवरणमा कायम प्रतिसेयर नेटवर्थलाई न्यूनतम र त्यसको तीन गुणासम्म अधितम ओपनिङ्ग कारोबार रेञ्ज तोक्ने गरेको छ ।
बुद्धभुमीले सर्वसाधारणमा बिक्री गरेको प्रतिकित्ता १०० रुपैयाँका दरले ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता सेयर असोज ११ देखि १४ सम्म आवेदन माग गरि सोज २२ गते, शुक्रबार गोलाप्रथाद्वारा बाँडफाँड गरेको थियो । कुल २० लाख ३० हजार ९५५ आवेदकमध्ये ७४ हजार ४०० आवेदकले १० कित्ताको दरले सेयर हात पारेका थिए ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया