वित्तीय साक्षरता सम्बन्धी कार्ययोजना राष्ट्र बैंकमा पेश गर्नुपर्ने


बैंक तथा वित्तीय संस्थाले वित्तीय साक्षरता सम्बन्धी कार्य योजना नेपाल राष्ट्र बैंकमा पेश गर्नुपर्ने भएको छ । राष्ट्र बैंकले वित्तीय साक्षरता मार्गदर्शन, २०७८ मस्यौदा तयार गर्दै संस्थाले वित्तीय साक्षरतासम्बन्धी कार्ययोजना आर्थिक वर्षको पहिलो त्रयमासभित्र पेश गर्नुपर्ने व्यवस्था गरेको हो ।

राष्ट्र बैंकले तयार गरेको मस्यौदा अनुसार संस्थाको केन्द्रीयस्तरबाट वित्तीय साक्षरता सम्बन्धी कार्यक्रमहरूको नियमित रूपमा आन्तरिक मूल्याङ्कन गर्नुपर्छ । यस्तो मूल्याङ्कन प्रतिवेदनमाथि संस्थाको सञ्चालक समितिले वार्षिक रूपमा छलफल गरी संस्थाको गतिविधिको समीक्षा सहित वार्षिक रूपमा दोस्रो त्रैमास भित्र नेपाल राष्ट्र बैंकमा पठाउनुपर्ने व्यवस्था गरेको मस्यौदामा उल्लेख छ ।

संस्थाहरूले वित्तीय साक्षरता कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि केन्द्रीय कार्यालयमा वित्तीय साक्षरताको कार्य गर्ने इकाई वा कुनै इकाईलाई सोको जिम्मेवारी तोकिएको हुनु पर्ने उल्लेख मस्यौदा छ । वित्तीय साक्षरता सम्बन्धी योजना तथा कार्ययोजना तर्जुमा गर्दा आधारभूत रूपमा यस बैंकबाट जारी वित्तीय साक्षरता ढाँचालाई पालना गर्नु पर्ने समेत मस्योदामा उल्लेख छ ।

मस्यौदामा वित्तीय साक्षरताका कार्यक्रम सञ्चालन गर्दा दुर्गम तथा वित्तीय पहुँच कम भएका लक्षित वर्ग र स्थानलाई प्राथमिकता दिनुपर्ने उल्लेख छ । वित्तीय साक्षरतासम्बन्धी कार्यक्रमका लागि स्रोत व्यक्ति तयार गर्न बैंकका कर्मचारीलाई आवश्यक तालिम तथा क्षमता अभिवृद्धिका कार्यक्रम सञ्चालन गर्न समेत सकिने व्यवस्था मस्यौदाले गरेको छ ।

बैंक तथा वित्तीय संस्थाहरूले व्याज अनुदान प्राप्त हुने विभिन्न प्रकारका सहुलियतपूर्ण कर्जा, आधुनिक प्रविधिमा आधारित भुक्तानी सेवाहरू, वित्तीय सेवा प्रवाहसम्बन्धी गुनासो सुनुवाई एवं व्यस्थापन प्रणालीको बारेमा सर्वसाधारणले सहजै बुझ्ने र सूचना पाउन सक्ने गरी आवश्यक संयन्त्रको विकास गर्नु पर्ने मस्यौदामा उल्लेख छ ।

संस्थाले वित्तीय साक्षरता सम्बन्धी अध्ययन सामग्री सम्प्रेषण गर्दा मूलतः उपयोगी वित्तीय ज्ञान तथा सीप विकास गर्ने विषयमा केन्द्रित हुनु पर्नेछ । यस्ता कार्यक्रम गर्दा आफ्ना सेवाको विज्ञापन गर्ने, संस्थाको ब्राण्डिङ गर्ने, व्यापारिक क्याम्पेन गर्ने जस्ता कार्य मात्र गर्न नपाइने समेत मस्यौदामा व्यवस्था गरिएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।