सेयर बजार पूँजीकरण ४१ खर्ब नजिक पुगेको छ । मङ्गलबारको नेप्सेमा आएको दोहोरो अंकको बढोत्तरीपछि सेयर बजार पूँजीकरण ४० खर्ब ८६ अर्ब दुई लाख १० हजार बराबर पुगेको हो । सोमबार बजार पूँजीकरण ४० खर्ब ५८ अर्ब ७४ करोड रहेकोमा २७ अर्ब २६ करोड रुपैयाँले बढेको हो ।
बजार पूँजीकरण कम्पनीको सेयर र अन्तिम मूल्यको गुणनफल भएकाले सेयर मूल्यसँगै पूँजीकरण पनि बढ्छ । हाम्रो बजारमा संस्थापक र पब्लिक शेयर दुबै भएपनि दैनिक कारोबारमा एकाध बाहेक पब्लिकको मात्र हुने गरेको छ । बजार पूँजीकरणले समग्र बजारको अवस्थालाई समेत देखाउने भएकाले लगानीकर्ताको आम्दानी तथा नोक्सानीलाई प्रत्यक्ष मूल्याङ्कन गर्न सकिन्छ ।
सेयर मूल्यमा भएको वृद्धिका कारण गएको लगानीकर्ताको सम्पत्तिमा बढोत्तरी आए पनि त्यो नाफा भने होइन । नाफा हुन लगानीकर्ताले सेयर बिक्री गरी नगद नै हात पार्नुपर्छ ।
यस कारण किताबी (लेखाङ्कन) रूपमा मात्र लगानीकर्ताको सम्पत्तिको मूल्य बढेको हो ।
नेप्सेको बजार पूँजीकरण गणना गर्दा सूचीकृत कम्पनीको सेयर मूल्यको महत्वपूर्ण भूमिका हुन्छ । बजार पूँजीकरणलाई सेयर बजारको सम्पत्तिको रुपमा बुझिन्छ । नेप्सेमा सूचीकृत शेयरहरुको कूल बजार मूल्य अर्थात सम्पूर्ण सूचीकृत कम्पनीको सेयर मूल्य र सेयर संख्याको गुणनफल नै बजार पूँजीकरण हो ।
धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज दोहोरो अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक आज १९.२९ अङ्कले उकालो लागेर २८९१.३३ बिन्दुमा पुगेको छ ।
यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.९८ अङ्कले बढेर ५४२.९० मा पुगेको छ । नेप्सेको उकालो यात्रासँगै कारोबार रकममा पनि सुधार आएको छ । कूल २२३ कम्पनीको एक करोड २१ लाख ६७ हजार ६०५ कित्ता सेयर ६ अर्ब ५७ करोड ४८ लाख ४२ हजार ४१८ मूल्यमा खरिद बिक्री भए ।
कारोबार भएका कूल १३ उपसमूहमध्ये आज चारको शेयर मूल्यमा गिरावट आएको छ भने ९ उपसमूहको शेयर मूल्यमा वृद्धि भएको छ ।
व्यापार १६.३०, होटल तथा पर्यटन २.६५, उत्पादन १३.०८ र जीवन बीमा १५.६१ ले घटेको छ । यस्तै, बैंकिङ ५.३०, विकास बैंक ८१.३९, जलविद्युत् १०९.९४, वित्त ३७.११, निर्जीवन बीमा ९१.८६, अन्य १, लघुवित्त ४९.६६, सामूहिक लगानी कोष ०.२४ र लगानी ०.११ अङ्कले उकालो लागेको छ ।
नेप्सेका अनुसार कारोबारका आधारमा नेशनल हाइड्रोपावर शीर्ष स्थानमा छ । सो कम्पनीको ३९ करोड एक लाख ४१ हजार ७०१ बराबरको कारोबार भयो । अरुण भ्याली हाइड्रोपावर ३७ करोड १४ लाख ४५ हजार ५६६, अपि पावर कम्पनी ३५ करोड सात लाख ९५ हजार ७७९, माथिल्लो तामाकोशी ३४ करोड २७ हजार २१९ र एचआइडीसीएल ३० करोड चार लाख ८४ हजार ३९५ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए ।
यस्तै, विन नेपाल लघुवित्त र बुद्धभूमि नेपाल हाइड्रोपावरको शेयर मूल्य १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लाग्यो । नेशनल हाइड्रोपावर ७.५०, फरवार्ड माइक्रो फाइनान्स ७.२५ र युनाइटेड इदी मर्दी हाइड्रोपावरका लगानीकर्ताले ५.९५ प्रतिशतले कमाएको नेप्सेले जनाएको छ । यस्तै, नेरुडे लघुवित्त ३.१७, मेरो माइक्रो फाइनान्स २.२८, सिभिल लघुवित्त २.१२, अजोड इन्स्योरेन्स २.०४ र ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले २ प्रतिशतले गुमाए ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया