धागोमा मुलुकआत्मनिर्भर : १५ अर्बको व्यापार ,११ अर्बको निर्यात,१० लाखलाई रोजगार

0
Shares

 पछिल्लो समय व्यापार घाटा बढ्दै गएको बेला नेपालबाट ११ अर्ब रुपैयाँ बराबरको धागो निर्यात भएको छ ।

नेपाल धागो उत्पादक सङ्घले स्वदेशमा बनेका विभिन्न तयारी पोशाकको प्रवद्र्धन गर्न बिहीबारदेखि भृकुटीमण्डपमा शुरु गरेको मेलामा चार उत्पादन कम्पनीले १५ अर्ब रुपैयाँ बराबरको धागो उत्पादन गरेकामा ४ अर्ब रुपैयाँको मात्र स्वदेशमा खपत भएको जानकारी दिएको छ । 

मेलाको उद्घाटन गर्दै अर्थमन्त्री डा युवराज खतिवडाले सरकारले कृषि उद्यमीलाई ५ करोड रुपैयाँसम्मको ऋणमा ५ प्रतिशत ब्याज अनुदान उपलब्ध गराएको बताए ।

व्यवसायीको संरक्षण सरकारले गर्ने बताउँदै उनले कपास, रेशा, तथा धागोजन्य वस्तु एकापसमा सह–सम्बन्धित रहेका कारण त्यस्ता उत्पादनमा उद्यमीलाई विद्युत्मा सहुलियत, आयकर तथा ब्याजमा छुटको व्यवस्था गरिएको जानकारी दिए ।

उनले भने, “यसरी सह–सम्बन्धित रहेका विभिन्न उत्पादनलाई मूल्य श्रृङ्खलामा ल्याउनुपर्छ, मूल्य अभिवृद्धि करले चोरी पैठारी नियन्त्रणमा सहयोग तथा उपभोक्तालाई लागत थपेको छ ।”

स्वदेशी उत्पादनको खपतलाई वृद्धि गर्ने गरी सार्वजनिक खरीद ऐन संशोधनको अन्तिम तयारीमा भइरहेको बताउँदै मन्त्री खतिवडाले सरकारले उपभोग्य सामग्रीमा अनुदान नदिने प्रष्ट पारे । बुटवल धागो उद्योग कम्पनी निजी क्षेत्रलाई भाडामा सञ्चालन गर्न दिन लागेको उनको भनाइ थियो ।

सङ्घका अध्यक्ष पवनकुमार गोयलले टेक्सटाईल क्षेत्रले करीब १० लाखलाई रोजगार दिएको जानकारी दिँदै दक्ष जनशक्तिको अभाव रहेको उक्त क्षेत्रको विकासका लागि बोर्ड गठन गर्न माग गरे । मेला यही असोज ६ गतेसम्म चल्नेछ ।