
शिखर इन्स्योरेन्स कम्पनी (SICL) को शेयरमूल्य समायोजन भएको छ । इन्स्योरेन्सको कम्पनीको चुक्ता पूँजीको ३० प्रतिशत हकप्रद सेयरपछि बिहीबार सेयरमूल्य समायोजन भएको हो ।
हकप्रद जारी गर्नका लागि कम्पनीले माघ २१ गते शुक्रबार सेयर दाखिला खारेजी मिति तोकेको छ । बिहीबारको अन्तिम कारोबार मूल्यलाई आधार मानेर नेप्सेले इन्स्योरेन्सको सेयरमूल्य निर्धारण गरेको हो ।
नेप्से अनुसार हकप्रद सेयर समायोजनपछि कम्पनीको सेयरमूल्य प्रतिकित्ता १५५०.७७ रूपैयाँ तोकिएको छ । यससँगै अब आइतबार यहि मूल्यलाई आधार मानेर कम्पनीको सेयर कारोबार खुल्नेछ । बिहीबार शिखरको सेयर प्रतिकित्ता १९८६ रूपैयाँमा अन्तिम पटक कारोबार भएको थियो ।
आइतबारपछि सेयर खरीद गर्ने लगानीकर्ताले भने कम्पनीले जारी गर्ने हकप्रदमा आवेदन दिन पाउँदैनन् । यसअनुसार माघ २० गते बिहीबारसम्म कायम सेयरधनीले मात्र कम्पनीले जारी गर्ने हकप्रद सेयरमा आवेदन दिन पाउनेछन् ।
कम्पनीले चुक्ता पूँजीको ३० प्रतिशत अर्थात् १ः०.३ अनुपातमा १०० अंकित दरको ५२ लाख ७५ हजार ५७२ कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो ।
कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।
इन्स्योरेन्सको हकप्रदले ‘इक्रा एनपी आइआर सिङ्गल ए’ क्रेडिट रेटिङ्ग पाएको छ । क्रेडिट रेटिङ्ग कम्पनी इक्रा नेपालले इन्स्योरेन्सको हकप्रदलाई कम जोखिम जनाउने ‘इक्रा एनपी आइआर सिङ्गल ए’ रेटिङ्ग प्रदान गरेको हो ।
शिखरको २०७७ माघ ९ गते सम्पन्न पन्ध्रौं तथा सोह्रौं वार्षिक साधारण सभाले चुक्ता पूँजीको ३० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव पारित गरेको थियो । इन्स्योरेन्स कम्पनीले २०७८ जेठ २५ गते बोर्डसँग चुक्ता पूँजीको ३० प्रतिशतले हुन आउने ५२ लाख ७५ हजार ५७२ कित्ता हकप्रद सेयर निष्कासनको अनुमति मागेको थियो ।
हाल शिखर इन्स्योरेन्सको चुक्ता पूँजी १ अर्ब ७५ करोड रुपैयाँ छ । हकप्रद जारीपछि इन्स्योरेन्सको चुक्ता पुँजी २ अर्ब २८ करोड रुपैयाँ पुग्नेछ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया