हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) को ३ करोड ३० लाख कित्ता सेयर फागुन १ गतेदेखि लिलाम बढाबढमा बिक्रीमा आउने भएको छ ।
कम्पनीको माघ २० गते, बिहीबार सम्पन्न सञ्चालक समितिको बैठकले यसअघि आवेदन गर्नुपर्ने न्यूनतम सीमा उच्च भएका कारण बिक्री नभएको ३ करोड ३० लाख कित्ता संस्थापक समूह अन्तर्गतको उक्त सेयर पुनः लिलाम बढाबढ गरी बिक्री गर्ने निर्णय गरेको हो ।
सो लिलामी सेयर खरीदका लागि लगानीकर्ताले फागुन १ गतेदेखि फागुन १५ गते कार्यालय समयभित्र शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् ।
लगानीकर्ताले न्युनतम १०० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा सम्पूर्ण सेयरका लागि बोलपत्र पेश गर्न सक्नेछन् । सो सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रूपैयाँ तोकिएको छ । लगानीकर्ताले सो वा सो भन्दा बढी प्रतिस्पर्धात्मक मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ ।
लिलामी सेयर खरीका लागि ग्लोबल आइएमई क्यापिटलको कार्यालय, नक्साल काठमाडौंका अलवा ग्लोबल आइएमई बैंकका शाखा कार्यालयहरू विर्तामोड, हनुमानदास रोड विराटनगर, जनकपुर, आदर्शनगर वीरगञ्ज, हेटौंडा, नारायणगढ, न्यूरोड पोखरा, बुटवल (मिलनचोक), बाग्लुङ्ग, नेपालगञ्ज (त्रिभुवन चोक), सुर्खेत, घोराही दाङ, धनगढी र महेन्द्रनगर शाखाबाट समेत आवेदन दिन सकिनेछ ।
कम्पनीको निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।
कम्पनीले गत साउन ५ गतेदेखि भदौ ८ गतेसम्म चुक्ता पूँजीको शतप्रतिशत अथाृत एक बराबर एक (१ः१) अनुपातमा कुल ११ करोड कित्ता हकप्रद सेयर जारी गरेको थियो । उक्त हकप्रद निष्कासन गरेकोमध्ये राष्ट्रिय बीमा संस्थान, कर्मचारी सञ्चय कोष, र नागरिक लगानी कोष लगायतले खरीद नगरेपछि ३ करोड ३० लाख कित्ता सेयर अवितरित भएको थियो ।
सर्वसाधारणतर्फ अवितरित ३२ लाख २९ हजार ७९४ कित्ता सेयर भने कम्पनीले यसअघि नै लिलाम बढाबढ मार्फत बिक्री गरिसकेको छ ।साे सेयर असोज २२ गते शुक्रबार शिलबन्दी बाेलपत्र खुला गरेर कार्तिक ७ गते बाँडफाँड गरिसकेको छ । संस्थापक सेयर बिक्रीका लागि न्यूनतम १ करोड कित्ताका लागि आवेदन दिनुपर्ने व्यवस्थाका कारण संस्थापक सेयर खरीदका लागि कुनैपनि आवेदन परेको थिएन ।
संस्थापक सेयर बिक्री नभएपछि कम्पनीको साधारण सभाले प्रबन्धपत्र तथा नियमावलीको नियम १० मा संसोधन गर्दै लिलामी मार्फत सेयर बिक्री गर्न कम्पनी संस्थापना भए पश्चात संंस्थापक समूहको सेयर खरिद गर्नेको हकमा न्यूनतम १ करोड कित्ता सेयर खरीद गर्नुपर्ने व्यवस्थामा संसोधन गरेको थियो । सो नियममा सेयरधनीले कम्पनीको संस्थापक हुन कम्तीमा १ करोड कित्ता सेयर लिएको हुनुपर्नेछ भन्ने व्यवस्था रहेकोमा यसमा तर, कम्पनी संस्थापना भए पश्चात संंस्थापक समूहको सेयर खरिद गर्ने सेयरधनीको हकमा सो सीमा लागू हुनेछैन भन्ने वाक्यांश थप गरिएको थियो ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया