नेपाल टेलिकमको व्यावसायिक साझेदार बन्न जापानी कम्पनी इच्छुक

0
Shares

जापानी टेलिकम कम्पनी केडीडीआईले नेपाल टेलिकमको व्यावासायिक साझेदार बन्न इच्छा देखाएको छ । कम्पनीसँग विभिन्न चरणमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले बैठक गरिसकेको छ ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले जापानी कम्पनीले व्यावसायिक साझेदार बन्न प्रस्ताव पठाएको भए पनि प्रारम्भिक छलफलका क्रममा रहेको बताए ।

जापानी कम्पनीले नाफा आधा–आधा बाँड्ने गरी व्यावसायिक साझेदार बन्ने प्रस्ताव गरेको हो । सरकारले केही अघि परामर्शदाता कम्पनी छनोट गरी रणनीतिक साझेदार छनोटको सम्बन्धमा अध्ययन गराएको थियो । उक्त अध्ययनले रणनीतिक साझेदारलाई २० देखि ३० प्रतिशतभन्दा बढी सेयर दिन नहुने निष्कर्ष निकालेको छ ।

जापानी कम्पनीले भने कम्पनीमा आफ्नो बहुमत सेयर हुनुपर्ने प्रस्ताव गरेको छलफलमा संलग्न मन्त्रालयका एक अधिकारीले जानकारी दिए । जापानी कम्पनीसँग सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र अर्थ मन्त्रालयका अधिकारीहरूले केही चरण छलफल गरिरहेका छन् ।

टेलिकम क्षेत्रमा बढ्दो प्रतिस्पर्धा र विश्वभर टेलिकमको घट्दो आम्दानीसँग जुध्न सरकारले रणनीतिक साझेदारको खोजी गरिरहेको छ । नेपालमा पहिलोपटक फोजी प्रविधि सञ्चालन गरेको टेलिकमले यो सेवालाई विस्तार गर्न नसक्दा आम्दानी गुमाइरहेको छ । टेलिकमको फोजी अहिले काठमाडौं उपत्यका र पोखरामा मात्रै सञ्चालनमा छ । टेलिकमको प्रतिस्पर्धी एनसेलका ग्राहक आधार कम भए पनि आम्दानीमा भने अघि हुँदै आएको छ । एनसेलले दुई दर्जनभन्दा बढी सहरमा फोजी सेवा सञ्चालन गरिरहेको छ ।

टेलिकमले एक वर्षभित्र देशैभर फोजी सेवा विस्तार गर्ने लक्ष्य सहित गत वर्ष दुई कम्पनीसँग ठेक्का सम्झौता गरेको थियो । माघ महिनाबाट दुवै कम्पनीले समानान्तर रूपमा फोजी विस्तारको काम गरिरहेका छन् ।

फोजी विस्तारको लागि हङकङस्थित सीसीएसआई नामक कम्पनीले रेडियो फ्रिक्वेन्सी नेटवर्क (र्‍यान) र चिनियाँ कम्पनी जेडटीईले कोर नेटवर्क विस्तारको काम पाएका छन् ।