मौद्रिक नीतिको पर्खाइमा लगानीकर्ताः सुस्तायो सेयर कारोबार

0
Shares

नेपाल राष्ट्र बैंक चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाको गर्ने अन्तिम चरणमा पुग्दा त्यसको पर्खाइमा रहेको लगानीकर्ताहरुले ‘पर्ख र हेर’ को रणनीति अबलम्बन गर्दा आज सेयर बजारमा कारोबार सुस्ताएको छ । सत्तारुढ गठबन्धनभित्रै एक धार संसदबाट एमसीसी पारित गर्ने र अर्को धार नगर्ने विषय ध्रुविक्रित भएर बढेको अन्तरद्वन्द्व तथा फागुनदेखि बैंकहरुले बढाएको व्याजदरको असर पनि बजारमा परेको छ ।

राष्ट्र बैंकले सञ्चालक समितिको बैठक बसेर मौद्रिक नीतिलाई स्वीकृत गरी सार्वजनिक गर्ने खबरले केन्द्रीय बैंकले नीतिको कस्तो समीक्षा ल्याउँछ चन्ने चासो आम लगानीकर्तामा रहेको छ ।

मौद्रिक नीतिको अर्ध वार्षिक समीक्षाका लागि माघमा सरोकारवालाहरुसँग सुझाव संकलन तथा छलफल गरेको राष्ट्र बैंकले व्यवस्थापकीय र विभागीय छलफल समेत सम्पन्न गरिसकेको छ । अब सञ्चालक समितिको बैठक बसेर स्वीकृत गरी मौद्रिक नीतिको समीक्षा सार्वजनिक गर्न मात्र बाँकी रहेको छ ।

समीक्षामा खासै ठूलो नीतिगत परिर्वतन नभएपनि सर्वाधिक चासोको तरलताको समस्या समाधानका लागि आयातमा कडाई गरिसकेको बैंकले घरजग्गा कर्जामा पनि कडाई गर्नसक्ने आंकलन गरिएको छ । यस्तै सेयर धितोको कर्जामा लगाइएको सीमा समेत के हुन्छ भन्ने विषय लगानीकर्ताको प्रमुख चासोको विषय रहेको छ ।

साताको अन्तिम कारोबार दिन नेप्सेमा सामान्य गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार बिहीबार नेप्से सूचक १.९४ अंकले घटेर २७३२.५१ बिन्दुमा झरेको छ । यस्तै ठूला कम्पनीको सूचक मापक सेन्सेटिभ इन्डेक्स स्थीर रहेको छ ।

यसदिन कूल २२७ वटा कम्पनीको ४० लाख १७ हजार ४२९ कित्ता सेयर ३४ हजार ३४६ वटा संख्यामा खरिदबिक्री हुँदा कारोबार रकम २ अर्ब २७ करोड ८१ लाख ७३ हजार ६६० रूपैयाँमा समेटिएको छ । बुधबार ३ अर्ब २ करोड ६३ लाख रुपैयाँको कारोबार भएको थियो । नेप्से सूचकमा गिरावट आउँदा कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा ७५ करोड रुपैयाँले घटेको छ ।

बिहीबार सेयर बजारमा गिरावट आएपनि यसदिन तेह्रथुम पावरको सेयर लगानीकर्ताले भने सबैभन्दा धेरै ६.४७ प्रतिशतका दरले कमाएका छन् । कम्पनीको मूल्य ३८ रुपैयाँले बढेर ६२५ रुपैयाँ पुगेको छ । यस्तै युनाइटेड इदिमर्दी एण्ड आरबि हाइड्रोपावर ६.३२ प्रतिशत, सामलिङ्ग पावर ४.१३ प्रतिशत, जीवन विकास लघुवित्त ३.५३ प्रतिशत र मैलुङ्ग खोला जलविद्युतका सेयरधनीले ३.४७ प्रतिशतका दरले कमाएका छन् ।

उता यसदिन राष्ट्रिय बीमा कम्पनीको संस्थापक सेयरमूल्य सर्वाधिक ४.४६ प्रतिशतले घट्दा १६ हजार ५१ रुपैयाँमा झरेको छ । यस्तै बुद्धभुमी हाइड्रोपावर ४.०२ प्रतिशत, एनआईसी एशिया डिबेञ्चर ८२।८३ को ३.९० प्रतिशत र ग्रीन लाइफको मूल्य ३.३९ प्रतिशतका दरले घटेको छ ।

सेयर बजारमा गिरावट आएको दिन जीवन विकास लघुवित्त वित्तीय संस्थाको भने सर्वाधिक कारोबार भएको छ । कम्पनीको २२ करोड ३७ लाख ३६ हजार १९७ रूपैयाँको कारोबार भएको हो । यस्तै हिमालयन डिष्टिलरीको १२.२० करोड, नेपाल टेलिकम १०.०३ करोड, अरुण भ्याली हाइड्रोपावरको ८ करोड र नेशनल हाइड्रोपावरको ७.४८ करोडको सेयर कारोबारमा आएको छ ।

स्टकका अनुसार आज कारोबार भएका कूल १३ उपसमूहगत सूचकमध्ये पाँच बढेको छ भने ८ घटेको छ । सबैभन्दा धेरै घटेको डेभलपमेन्ट बैंक ०.४३ प्रतिशतले घटेको छ भने सबैभन्दा धेरै बढेको ब्यापार पनि ०.४३ प्रतिशतले नै बढेको छ । जलविद्यत, अन्य, म्युचुअल फण्ड र उत्पादन सामान्य सकारात्मक रहँदा बैंकिङ्ग, होटल, फाइनान्स, निर्जीवन बीमा, लघुवित्त, जीवन बीमा र लगानी सूचक पनि सामान्य ऋणात्मक बनेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ५ फाल्गुन २०७८, बिहिबार  १६ : १० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।