
नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) पाउने लगानीकर्ता मालामाल हुने देखिएको छ । कम्पनीले विगत तीन वर्षयता गरेको प्रगति र भविष्यमा गर्नसक्ने प्रगतिको प्रक्षेपणको समीक्षा गर्दा कम्पनीको भविष्य उज्जव देखिएको हो ।
लघुवित्तले आईपीओ निष्काशनका लागि प्रकाशन गरेको आह्वानपत्र अनुसार गत आर्थिक २०७७।७८ को अपरिष्कृत वित्तीय विवरण अनुसार लघुवित्तले २५ करोड ३० लाख ३० हजार रुपैयाँ सञ्चित मुनाफा आर्जन गरेर वार्षिक पतिसेयर आम्दानी ९४.८८ रुपैयाँ कायम गरेको छ । तीन वर्षपछि अर्थात आव २०८०।८१ सम्ममा लघुवित्तले ५७ करोड ४३ लाख १६ हजार रुपैयाँ नाफा कमाएर १३२. ८२ रुपैयाँ पुर्याउने कम्पनीको प्रक्षेपण छ । गत आर्थिक २०७७।७८ मा कम्पनीको प्रतिसेयर नेटवर्थ ३५२.२३ रुपैयाँ रहेकोमा तीन वर्षपछि २०८०।८१ सम्ममा ४०७.५९ रुपैयाँ पुग्ने कम्पनीको प्रक्षेपण रहेको छ ।
तीन वर्षअघि अर्थात आव २०७४।७५ मा कम्पनीको खुद नाफा १२ लाख ९ हजार रहेको थियो भने प्रतिसेयर नेटवर्थ ९६.०२ रुपैयाँ मात्र रहेको थियो । सो अवधिमा लघुवित्तको वार्षिक प्रतिसेयर आम्दानी १.८६ रुपैयाँ रहेको थियो । आईपीओ निष्काशनको वखतमा नै वार्षिक प्रतिसेयर आम्दानी १०० रुपैयाँ नजिक रहेकाले कम्पनी भोलिका दिनमा ब्लूचिप कम्पनीको रुपमा स्थापना हुनसक्ने संकेत देखिएको छ ।
कम्पनीले चालु आर्थिक वर्ष २०७८।७९ मा ३१ करोड ९६ लाख रुपैयाँ र आव २०७९।८० मा ४३ करोड १२ लाख रुपैयाँ सञ्चित नाफा कमाउने प्रक्षेपण गरेको छ । यस अवधिमा लघुवित्तको प्रतिसेयर आम्दानी क्रमशः १०२.९९ रुपैयाँ र १२३.८१ रुपैयाँ तथा चालु आर्थिक वर्षको अन्त्यसम्ममा प्रतिशेयर नेटवर्थ ३६३.११ रुपैयाँ र आव २०७९।८० मा ३९० रुपैयाँ कायम हुने कम्पनीको आंकलन छ ।

आईपीओ निष्काशनका लागि गराइएको साख मूल्याङ्कनमा पनि कम्पनीका अवस्था बलियो देखिएको छ । कम्पनीको आईपीओलाई इक्रा नेपालले लिमिटेडले ‘इक्रा एनपी–आईआर बीबी प्लस’ रेटिङ प्रदान गरेको छ । डबल बी रेटिङ प्राप्त संस्था समयमा वित्तीय दायित्व पूरा गर्न चुक्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्दछ ।
लघुवित्तले आईपीओ निष्काशन गरी संकलन भएको ८ करोड २८ लाख ७५ हजार रुपैयाँमध्ये ५० प्रतिशत अर्थात ४ करोड १४ लाख ३७ हजार ५०० रुपैयाँ पशुपालन तथा कृषि कर्जामा लगानी गर्ने उदेश्य राखेको छ । लघुवित्तले सेवा विस्तार गर्ने क्रममा लगानी बढाउन तथा वित्तीय एवं आर्थिक गतिविधिहरुलाई विस्तार गर्न आवश्यक पर्ने पूँजीको व्यवस्था गर्न र वित्तीय संस्थाको प्रबन्धपत्र तथा नियमावलीमा उल्लेख गरिएका उदेश्यहरु अनुरुप गर्नुपर्ने कार्यहरुको लागि आवश्यक पर्ने पूँजी संकलन गर्न आईपीओ निष्काशन गरको कम्पनीले जनाएको छ ।
संस्थाले चुक्ता पूँजीको ३२.५० प्रतिशत अर्थात ८ करोड २८ लाख ७५ हजार रुपैयाँ बराबरको ८ लाख २८ हजार ७५० कित्ता प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) जारी गरेको हो । आईपीओमा लगानीकर्ताले मेरो सेयरको मोबाइएल एप, वेवसाइट, नेपाल धितोपत्र बोर्डबाट सि आस्वा सदस्यता अनुमति लिएका स्वीकृती प्राप्त गरेका सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट फागुन १५ गतेदेखि आवेदन दिन सक्नेछन् । आईपीओपछि कम्पनीको चुक्ता पूँजी २५ करोड ५० लाख रुपैयाँ पुग्नेछ ।
कम्पनी राजिष्ट्रारको कार्यालयमा विसं २०७४ चैत २८ गते पब्लिक लिमिटेड कम्पनीको रुपमा दर्ता भएको नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले नेपाल राष्ट्र बैंकबाट २०७५ माघ २९ गते ‘घ’ वर्गको वित्तीय संस्थाको रुपमा कारोबार गर्न अनुमति पाएको थियो ।
लघुवित्तका संस्थापकहरुमा विभिन्न बैंक तथा वित्तीय संस्था तथा बैंकिङ्ग क्षेत्र, सरकारी क्षेत्र, गैर–सरकारी क्षेत्र, शैक्षिक क्षेत्र, कृषि, उद्योग तथा व्यापार क्षेत्र एवं व्यवस्थापन क्षेत्रमा लामो समयदेखि दख्खल भएका प्रतिष्ठित व्यक्तिहरु रहेकाले पनि कम्पनीको सेयरमा लगानी गर्नेहरु मालामाल बन्ने अनुमान गर्न सकिन्छ ।
पर्वतको कुश्मा नगरपालिका वडा नम्बर ६, न्यूरोडमा केन्द्रीय कार्यालय रहेको लघुवित्तले हाल १२ जिल्लामा ५६ वटा शाखा कार्यालयहरु मार्फत वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया