लगानीकर्तालाई उत्साहित गर्ने कार्यक्रम ल्याउन उद्योगी–व्यवसायीको आग्रह

0
Shares

उद्योगी–व्यवसायीले मुलुकमा लगानीको वातावरण बन्दै गएकाले लगानीकर्तालाई उत्साहित गर्ने नीति तथा कार्यक्रम ल्याउन सरकारलाई आग्रह गरेका छन् । उनीहरुले उद्योग र पर्यटनका क्षेत्रमा निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्न तीनै तहका सरकारलाई सुझाव दिए ।

सोमबार आयोजित बुटबल उद्योग वाणिज्य सङ्घ रुपन्देहीको ६६औँ साधारणसभामा बोल्दै उद्योगी/व्यवसायीले योगदानमा आधारित सामाजिक सुरक्षाकोष कार्यान्वयनका लागि व्यवहारिक कठिनाइ देखिएकाले उद्योग–व्यसायलाई वर्गीकरण गर्न सुझाव दिए ।

सभाको उद्घाटन गर्दै प्रदेश नं ५ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लीला गिरीले सरकार र निजी क्षेत्र मिलेर समृद्धिको यात्रामा सँगै अगाडि बढ्न जरुरी रहेको बताए । “निजी क्षेत्रले काँध नहाले सरकार अगाडि बढ्न सक्दैन, त्यसैले सरकार र निजी क्षेत्रबीच सहकार्य जरुरी छ”, उनले भने ।

मन्त्री गिरीले मुलुकमा लामो समयसम्म अस्थिर राजनीतिक अवस्था रहँदा पछाडि हुनुपरे पनि अब विकासले फड्को मार्ने विश्वास व्यक्त गरे । “उद्योग, कलकारखाना बन्द हँुदा युवा विदेशीन बाध्य भए, हामी परनिर्भर भयौँ, अब यो अवस्थाको अन्त्य हुनुपर्छ”, उनले भने । रुपन्देहीको मोतीपुर औद्योगिक करिडोर तथा सुनवलको चिनी मिल, बुटवलको धागो कारखाना सञ्चालनका लागि प्रदेश सरकारले सङ्घीय सरकारसँग पहल गरिरहेकाले यी उद्योग सञ्चालनपछि रोजगारी सिर्जना हुने बताए ।

मन्त्री गिरीले कानूनको अभावमा प्रदेशमा कामको गति सुस्त देखिए पनि सरकार दृढताका साथ लागिरहेकाले केही वर्षमै कामका उपलब्धि प्राप्त हुने बताए । “कानूनको पालना नगर्ने परिपाटीले निर्माणका काममा ढिलाइ हँुदा हामीलाई पीडाबोध भएको छ, यसबारे सङ्घलाई जानकारी गराएका छौँ”, उनले भने, “अब समयमा योजना सम्पन्न नगर्नेहरुलाई कानूनी दायरामा ल्याएर कारवाही गर्छौँ ।”

नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले भैरहवाको गौतमबुद्ध विमानस्थल सञ्चालन भएपछि यस क्षेत्रको औद्योगिक तथा पर्यटकीय विकासमा नयाँ आयाम आउने भएकाले त्यसलाई लक्षित गरेर लगानीको वातावरण बनाउन प्रदेश सरकार तथा स्थानीय तहलाई आग्रह गरे ।

बुटवल उद्योग वाणिज्य सङ्घका अध्यक्ष खिमबहादुर हमालले सरकारका योजना र कार्यक्रममा निजी क्षेत्रलाई समेटन् आग्रह गरे । उनले प्र्रदेश नं ५ को राजधानी रुपन्देही र नामाकरण लुम्बिनी राख्न उद्योगी व्यवसायी एकमत रहेकाले छिटो टुङ्गो लगाउन प्रदेश सरकारसँग माग गरे।

कार्यक्रममा महासङ्घका उपाध्यक्ष चन्द्रप्रसाद ढकाल, नेपाल उद्योग वाणिज्य महासङ्घ प्रदेश नं ५ का अध्यक्ष गुणनिधि तिवारी, प्रदेश नं ३ का अध्यक्ष दिनेश श्रेष्ठ, सङ्घका पूर्वध्यक्ष तथा सल्लाहकार नवराज श्रेष्ठलगायतले बोल्दै निजी क्षेत्रलाई प्रोत्साहन गर्ने नीति तथा कार्यक्रम ल्याउन सुझाव दिए।