नेप्से दोहोरो अंकले बढ्यो, नेपाल टेलिकमको उच्च कारोबार

0
Shares

साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार पछिल्ला चार कारोबार दिनमा नेप्से करिब ७२ अंक घटेको बजार सूचक सोमबार १८.०७ अंकले उकालो लागेको हो ।

सोमबार नेप्से सूचक आरालो लागेर २६३४.६५ बिन्दुमा पुगेको छ । यस्तै ठूला कम्पनीको कारोबार मापक सेन्सेटिभ इन्डेक्स पनि १.९२ अंकले बढेर ४९६.३० बिन्दुमा उक्लेको छ । आइतबार नेप्से १४.६७ अंकले ओरालो लागेर २६१६.५८ बिन्दुमा झरेको थियो ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज अन्य र होटको सूचक बाहेक बाँकी सबै उपसमूहगत सूचक बढेको छ । अन्य १.९० र होटल तथा पर्यटनको सूचक ०.४३ प्रतिशतले घटेको हो । उता बैंकिङ ०.३५, व्यापार १.४०, विकास बैंक २.९५, जलविद्युत् २.७३, वित्त २.५८, निर्जीवन बीमा ०.३८, उत्पादन ०.५६, लघुवित्त ०.६६ जीवन बीमा १.२१, सामूहिक लगानी कोष ०.५८ र लगानी १.०४ प्रतिशतले बढेको छ ।

आज कारोबार रकम पनि बढेर साढे २ अर्ब नाघेको छ । आज दिनभरमा २३१ कम्पनीको ५१ लाख ८९ हजार ०८३ कित्ता सेयर ३७ हजार ९३९ पटक किनबेच हुँदा कारोबार रकम २ अर्ब ५९ करोड २७ लाख १८ हजार १३१ रुपैयाँमा पुगेको हो । हिजो सवा २ अर्बको सेयर कारोबार भएको थियो ।

टेलिकमको उच्च कारोबार

सोमबार कारोबारका आधारमा दूरसञ्चार कम्पनी (नेपाल टेलिकम) अग्र स्थानमा रहेको छ । २० करोड ९४ लाख रुपैयाँभन्दा बढीको कारोबार सहित टेलिकमको उच्च कारोबार भएको हो ।

यस्तै अरुण भ्याली हाइड्रोपावर ९.२३ करोड, जीवन विकास लघुवित्त ९.०६ करोड, अपि पावर ९.०२ करोड, शिवम् सिमेन्टस् ८.७३ करोड, नेपाल लाइफ ८.४७ करोड, निफ ६.३८ करोड, नेपाल बैंक ५.९४ करोड, ङादी ग्रुप पावर ५.५० करोड र दशौं ठूलो कारोबार भएको माउन्टेन हाइड्रोपावर नेपालको ५.०७ करोडको सेयर कारोबार भयो ।

यसदिन इमर्जिङ नेपाल लिमिटेडको सेयमूल्यमा सकारात्मक सर्किट लागेको छ । कम्पनीको सेयरमूल्य ९.९८ प्रतिशतले बढेर प्रतिकित्ता ५७१.७० रूपैयाँ पुगेको छ । यस्तै ङादी ग्रुप पावर ७.६७, माउन्टेन हाइड्रोपावर ६.५४, कर्णाली विकास बैंक ६.४९, युनियन हाइड्रोपावर ५.५७, राधी विद्युत ५.३७, बोर्टलर्स नेपाल तराई ५.१०, सांग्रिला डेभलमेन्ट बैंक ४.८७, अरुण भ्याली हाइड्रोपावर ४.८४ र श्री इन्भेष्ट फाइनान्सको सेयरमूल्य ४.६४ प्रतिशतले बढेको छ ।

सोमबारको बजारबाट राष्ट्रिय बीमा कम्पनीको संस्थापक समूहको सेयरधनीले धेरै गुमाएका छन् । कम्पनीको सेयर सबैभन्दा धेरै ६.७१ प्रतिशतले घटेको छ । हिजो पनि ५.८८ प्रतिशतले घटेको थियो । सोमबार कम्पनीको संस्थापक सेयरमूल्य घटेर १४ हजार ९०१ रूपैयाँमा झरेको हो ।

यसैगरि एभरेष्ट इन्स्योेरेन्स संस्थापकको सेयरको भाउ ३.९२ प्रतिशत र दूरसञ्चार कम्पनी (नेपाल टेलिकम) को २.९७ प्रतिशतले घटेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ७ चैत्र २०७८, सोमबार  १५ : ५७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।