
एनआईसी एशिया बैंक लिमिटेड (NICA) को आइतबार सम्पन्न २४ औँ वार्षिक साधारण सभाबाट ६ सञ्चालक निर्विरोध निर्वाचित भएका छन् ।
काठमाण्डौको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा सम्पन्न भएको सभाले संस्थापक सेयरधनीका तर्फबाट प्रतिनिधित्व गर्ने र सर्वसाधरण सेयरधनीका तर्फबाट प्रतिनिधित्व गर्ने ३–३ जना गरी ६ जना सञ्चालक निर्विरोध निर्वाचित गरेको हो ।
सभाले संस्थापक सेयरधनीहरुका तर्फबाट तुलसीराम अग्रवाल, त्रिलोकचन्द अग्रवाल र रामचन्द्र संघाई तथा सर्वसाधारण सेयरधनीहरुका तर्फबाट निकुञ्ज अग्रवाल, गणेशमान श्रेष्ठ र आदित्यकुमार अग्रवाल निर्विरोध निर्वाचित गरेको हो ।
यस्तै सभाले गत कात्तिक १० गते सम्पन्न सञ्चालक समितिको ५१२ औं बैठकले बैंकको स्वतन्त्र सञ्चालकको पदमा विजया स्वारलाई नियुक्त गर्ने निर्णय गरेकोमा उक्त निर्णयलाई अनुमोदनसमेत गरेको छ ।
साथै सभाले आर्थिक वर्ष २०७७/७८ को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित २०७८ आसार मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वार्षिक विवरणमाथि छलफल गरी स्वीकृत गरेको छ । सभा सम्पन्न भएपश्चात बसेको नवनिर्वाचित सञ्चालक समितिको ५३७ औं बैठकले सञ्चालक तुलसीराम अग्रवाललाई बैंकको सञ्चालक समितिको अध्यक्षमा सर्वसम्मत चयन समेत गरेको छ ।
बैंकका सेयरधनीले यस वर्ष लाभांश पाउन सकेनन् । कम्पनीले गत आवको मुनाफाबाट सेयरधनीलाई १५ प्रतिशत बोनस सेयर र ०.७९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरी नेपाल राष्ट्र बैंकसँग स्वीकृति मागेको थियो ।बैंकको उच्च कर्जा विस्तारका कारण क्यापिटल कन्जरभेसन बफर नदेखिएको भन्दै राष्ट्र बैंकले लाभांश वितरणमा रोक लगाएको थियो । त्यसपछि कम्पनीको लाभांश रद्द भएको थियो ।
बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले गर्दा यो बैंक मुलुकभर रहेका ३५८ शाखा कार्यालयहरू, ४७३ एटिएम, १०० वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन पुगेको बैंकले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया