नेष्डो समृद्ध लघुवित्तका आईपीओका लगानीकर्ताले कमाए १६ गुणा नाफा, सेयर टुक्राएर बिक्री गरेर मूल्य बढाउँदै कारोबारी

0
Shares

नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रारम्भिक सर्वाजनिक निष्काशन (आईपीओ) का लगानीकर्ताले लगानीको १६ गुणा बढी नाफा आर्जन गरेका छन् ।

धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका बमोजिम गोलाप्रथाबाट लघुवित्तको एक हजार रुपैयाँ बराबरको १० कित्ता सेयर हात पारेका लगानीकर्ताको लगानी १६ गुणा बढी अर्थात १७ हजार रुपैयाँ पुगेको हो ।

साताको अन्तिम दिन बिहीबार पनि लघुवित्तको सेयरमूल्य १० प्रतिशत अर्थात १५४.५० रुपैयाँ बढेको हो । साताको अन्तिम कारोबार दिन बिहीबार सेयरबजार खुलेको एक घण्टा अगावै नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमा सकारात्मक सर्किट लागेको हो । यससँगै लघुवित्तको सेयरमूल्य प्रतिकित्ता १ हजार ७०० रुपैयाँ पुगेको छ ।

लघुवित्तको सेयर चैत १४ गतेदखि धितोपत्र दोस्रो बजारमा कारोबारमा सुरु भएको थियो । कारोबारमा आएदेखि नै लघुवित्तको सेयर खरीद माग उच्च हुँदा सेयरमूल्य निरन्तर उकालो लागिरहेको छ । आईपीओ पाएका लगानीकर्ताले ९ दिनको अन्तरालमा नै १६ हजार रुपैयाँ बढी नाफा कमाएका छन् ।

समाचार तयार पार्दासम्म बुधबार कम्पनीको सेयर खरीदका लागि नेप्सेको मार्केट डेप्थमा सर्किट मूल्यमा नै ६९३ वटा आदेश मार्फत ८८ हजार ९१७ कित्ता खरीद माग रहेको छ । कम्पनीको सेयरमा बिक्रीकर्ता शून्य छन् । बजार खुल्ना साथ मूल्य बढेर सर्किट लागेपछि क्रेता हाबी भएसँगै कम्पनीको सेयरमूल्यमा आज पनि सकारात्मक सर्किट लागेर बढेको हो ।

बिहीबार दिउँसो सवा १ बजेसम्म कम्पनीको सेयर जम्मा २७० कित्ता सेयर ४ लाख ४९ हजार रुपैयाँमा खरीद बिक्री भएको छ । बुधबार दिनभर २०४ कित्ता सेयर कारोबार भएको थियो । यसअघिका आठ कारोबार दिनमा लघुवित्तको जम्मा एक हजार ६५ कित्ता सेयर कारोबार भएको छ ।

मूल्य प्रभावित पार्न लघुवित्त कम्पनीको धितोपत्र हरेक दिन जसो अडलटमा कारोबार भएको छ । आठ करोबार दिनमा ७ दिन नै अड लटमा कारोबार भउको देखिन्छ । खातामा सेयर भएसम्म १० कित्ताभन्दा कम सेयर खरीद बिक्री गर्न नपाइने भएपनि कारोबारीहरुले मूल्य बढाउने प्रयोजनका लागि नै धितोपत्र टुक्र्याएर बिक्री गरेका हुन् । यसअघि नेप्सेले यसरी सेयर बिक्री गर्ने ब्रोकर कम्पनीलाई कारवार्ही गर्ने गरेको भएपनि पछिल्लो समय नेप्सेको ध्यान यसतर्फ पुग्न सकेको छैन ।

क्र.सं. मिति अन्तिम कारेबार मूल्य परिवर्तन परिमाण कुल कारेबार रकम
१ चैत २४ १७००.०० १०.०० – –
२ चैत २३ १५४५.५० १०.०० २०४ ३०९३५६
३ चैत २२ १४०५.०० १०.०० १४५ १९५९५९
४ चैत २१ १२७७.३० १०.०० १४६ १८०८०३
५ चैत २० ११६१.२० ९.९९ १४८ १६४९२९
६ चैत १७ १०५५.७० ९.९९ ९६ ९७१९५
७ चैत १६ ९५९.८० ९.९९ ११२ १०३८०९
८ चैत १५ ८७२.६० १०.०० १०४ ८६५४०
  चैत १४ ७९३.३० ६.१० ११० ८३९६३

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: २४ चैत्र २०७८, बिहिबार  १३ : १९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।