नेपाल टेलिकमद्धारा कुल आयको ५० प्रतिशत भन्दा अधिक रकम सरकारी कोषमा दाखिला

0
Shares

नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (NTC) ले गत आर्थिक वर्ष २०७७।७८ मा गरेको कुल आयको ५० प्रतिशत भन्दा अधिक रकम कर तथा गैर कर वापत सरकारी कोषमा दाखिल गरेको छ ।

त्रिभुवन आर्मी अफिसर्स क्लबमा सम्पन्न भएको साधारण सभामा आर्थिक वर्ष २०७७/७८ मा टेलिकमले २७ अर्ब ७३ करोड राजस्व दाखिला गरेको जानकारी दिइयो । गत आवमा टेलिकमले ग्राहकसँगको आम्दानी, वित्तीय आम्दानी र अन्य आम्दानी गरी कुल ४२ अर्ब २२ करोड ९६ लाख रुपैयाँ आम्दानी गरेको थियाे । यस अवधिमा संस्थागततर्फ सबैभन्दा बढी आयकर दाखिला गर्ने कम्पनीको रूपमा नेपाल सरकारद्वारा सम्मानित भएको कम्पनीका सञ्चालक समितिका अध्यक्ष एवं सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव बैकुण्ठ अर्यालले जानकारी दिए ।

चौधौं वार्षिक साधारण सभाबाट गत आर्थिक वर्ष २०७७/७८ को मुनाफा रकम मध्येबाट कम्पनीका सेयरधनीहरुलाई प्रत्येक १०० कित्ता सेयर बराबर २० कित्ताको अनुपातमा बोनस सेयर र प्रतिसेयर २० रुपैयाँ दरले नगद लाभांश गरी कुल चुक्ता पूँजीको ४० प्रतिशत लाभांश अनुमोदन समेत गरेको छ ।

कम्पनीको बारेमा थप जानकारी दिँदै उनले भने, ‘इन्टरनेटको बहुउपयोगमार्फत सूचना प्रवाहलाई सजिलो र प्रभावकारी बनाउनुको साथै इन्टरनेट सेवाको विस्तारमा ध्यान केन्द्रित गरिएको छ । स्याटेलाइट प्रविधिको समेत प्रयोगद्वारा विकट हिमाली जिल्लाहरूमा वायरलेस तथा वायरलाइन सेवा उपलब्ध गराइएको छ । मुलुकभर अप्टिकल फाइबर विस्तार गर्नुका साथै बीटीएस तथा ट्रान्समिसन उपकरणहरू जडान गरी स्थानीय टेलिफोन सेवा, फोरजी एलटीई सेवा र एफटीटीएच सेवा विस्तार तथा वितरणमा तीव्रता दिइएको छ ।’

अध्यक्ष अर्यालले नेपाल सरकारको सूचना महामार्ग निर्माणको लक्ष्यमा सहयोग पु¥याउन कम्पनीले ब्याकबोन नेटवर्क, मल्टिपल क्रसबोर्डर अप्टिकल फाइबर नेटवर्क र मध्यपहाडी लोकमार्गमा अप्टिकल फाइबर नेटवर्क विस्तार गर्ने कार्यलाई प्राथमिकताका साथ अगाडि बढाएको जानकारी दिए ।

नेपाल सरकारको नीतिअनुरूप स्थानीय तहको केन्द्र, वडा कार्यालय, स्वास्थ्य संस्था, सामुदायिक माध्यमिक विद्यालय र सामुदायिक क्याम्पसमा इन्टरनेट सेवा विस्तार गर्ने कार्यलाई निरन्तरता दिनुका साथै स्थानीय तहहरूमा फोरजी सेवा विस्तार गरिएको उनको भनाई छ ।

कोभिड–१९ महामारीको समयमा कम्पनीले विद्युतीय कारोबारमा सहयोग गर्न महत्वपूर्ण भूमिका खेलेको र नेपाल सरकारले घोषणा गरेको बन्दाबन्दीका समयमा कम्पनीले सहुलियत दरमा विभिन्न प्याकेज उपलब्ध गराएको बताउँदै अध्यक्ष अर्यालले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत वातावरण, स्वास्थ्य, खेलकुद, शिक्षा लगायतका क्षेत्रहरूमा निरन्तर सहयोग उपलब्ध गराउँदै आएको उल्लेख गरे ।

दुई करोड ११ लाख ग्राहक, खुद नाफा ७ अर्ब १३ करोड

गत आर्थिक वर्ष २०७७।७८ को अन्त्यसम्म नेपाल टेलिकमको भ्वाइस सेवाको ग्राहक २ करोड ११ लाख पुगेको छ । गत आर्थिक वर्षमा कम्पनीको भ्वाइस सेवाको ग्राहक आधार ५.५७ प्रतिशतले वृद्धि भई २ करोड ११ लाख पुगेको हो ।

यस्तै कम्पनीको राजस्वको प्रमुख स्रोतको रूपमा रहेको जीएसएम सेवाको ग्राहक आधार १४.२४ प्रतिशतले वृद्धि भएको छ । साथै, कम्पनीको डाटा सेवाको ग्राहक आधार ३५.३१ प्रतिशतले वृद्धि भई २ करोड ३ लाख ९७ हजार पुगेको अध्यक्ष अर्यालले बताए ।

उनले भने, ‘टेलिकमले बजारको माग अनुसार कम्पनीले डाटा सेवामा जोड दिई सोही अनुरूप आफ्नो योजना कार्यान्वयन गर्दै सुविधा उपलब्ध गराउँदै आएको छ । यस आर्थिक वर्षमा कम्पनीले डाटा सेवाको बजार हिस्सामा उल्लेख्य वृद्धि गरेको छ । कम्पनीको ब्रोडब्याण्ड डाटा सेवाको बजार हिस्सा ५.१४ प्रतिशतले वृद्धि भई ५३.८२ प्रतिशत पुगेको छ । यसरी भ्वाइस र डाटा दुवै सेवामा यस कम्पनी नेपालको अग्रणी संस्थाको रूपमा स्थापित हुन सफल भएको व्यहोरा यहाँहरू समक्ष राख्न पाउँदा म गौरवान्वित भएको छु ।’

गत आर्थिक वर्षमा कम्पनीले ४२ अर्ब २१ करोड कुल राजस्व संकलन गरेर ७ अर्ब १३ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बढ्दो प्रतिस्पर्धाका कारण व्यापार प्रबद्र्धनको लागि प्रतिस्पर्धी मुल्यमा सेवा उपलब्ध गराउनुपर्ने बाध्यता विद्यमान रहेको अवस्थामा समेत कम्पनी उक्त नाफा कमाएको सफल भएको उनले बताए । प्रविधिमा भएको विकास र परिवर्तनसँगै विश्वमै भ्वाइस सेवाको व्यापार क्रमशः डाटा तथा अन्य भ्यालु एडेड सेवामा रूपान्तरण हुने क्रममा रहेको सो अवसरमा जानकारी दिइयो ।

प्रविधिको विकास, ग्राहकको आवश्यकता, आर्थिक–सामाजिक क्रियाकलापमा सूचना प्रविधिको अपरिहार्यता जस्ता पक्षहरूको विश्लेषण र मुल्याङ्कन गरी कम्पनीले आफ्नो सेवालाई समयसापेक्ष बनाई मुलुकभर ७७ जिल्लाका ७२० भन्दा बढी स्थानीय निकायमा फोरजी।एलटीई सेवा उपलब्ध गराइसकेको छ । बाँकी स्थानमा छिट्टै यो सेवा विस्तार गर्ने गरी काम भइरहेको कम्पनीको भनाई छ ।

पछिल्लो समय टेलिकमले सोलुखुम्बुको ३ हजार १३० मिटर उचाइमा रहेका विकट ताक्सिन्दु एवं जुभु र ओखलढुङ्गाको विकट सेर्नाजस्ता अत्यन्त दुर्गम स्थानहरुमा मोबाइल सेवा आरम्भ गरेको छ । सेवाको स्तरोन्नति गर्दै सेवा विस्तार तथा गुणस्तर वृद्धि गर्ने क्रममा आर्थिक वर्ष २०७७÷७८ मा थप १ हजार ५६६ इनोडिबी जडान गरी सञ्चालनमा ल्याइएको तथा प्रिभेन्टिभ मेन्टिनेन्स, नेटवर्क अप्टीमाइजेसन, ब्याट्रि ब्याकअप थप गर्ने जस्ता कार्यहरूलाई निरन्तरता दिइएको छ ।

उपभोक्ताको चाहना बमोजिम नवीनतम प्रविधिमा आधारित गुणस्तरीय तथा भरपर्दो सेवा उपलब्ध गराउनु कम्पनीको प्रमुख लक्ष्य रहेको र यसका लागि डाटा सेवा, भ्यालु एडेड सेवा लगायतका नवीनतम प्रविधिमा आधारित सेवाहरूको विकास तथा विस्तार गरिएको उनले बताए ।

उपभोक्तालाई सरल, सहज र सुलभ दरमा विविध सेवाहरू उपलब्ध गराउन तथा कम्पनीको राजस्व वृद्धि गर्न छिट्टै वायरलेस प्रविधिको फोरजी एलटीई विस्तार कार्यलाई पूर्णता दिई फाईभजी सेवाको परीक्षण गर्ने गरी कार्य अगाडि बढाइएको बताउदै उनले भने, ‘ताररहित र तारसहित सेवाको विस्तार, अन्तर्राष्ट्रिय रोमिङ सेवाको विस्तार एवं वितरित सेवाहरूको गुणस्तर सुधार लगायतका कार्यहरूलाई तीब्रता दिइएको छ । भ्वाइस सेवालाई डाटा सेवाले प्रतिस्थापन गर्दै लगेकाले डाटाको माग पूर्तिका लागि भ्यालु एडेड सेवा विस्तारलाई प्राथमिकतामा राखिएको छ ।

यस्तै डिजिटल अर्थतन्त्रको विकास र विस्तार गर्न सहयोग गर्ने क्रममा राष्ट्रिय वाणिज्य बैंकसँगको सहकार्यमा मोबाइलमा आधारित वित्तीय सेवा उपलब्ध गराउन नेपाल टेलिकमको सहायक कम्पनीको रूपमा नेपाल डिजिटल पेमेन्टस् कम्पनी स्थापना भई सेवा शुरु भइसकेको छ । यस कम्पनीले इन्टरनेट सुविधा उपलब्ध नहुँदा समेत यूएसएसडी प्रविधिबाट डिजिटल भुक्तानी गर्नसक्ने मोबाइल एप्सको विकास गरी सञ्चालनमा ल्याएको छ ।

नेपाल टेलिकमको लाभांश अनुमोदन, चुक्ता पूँजी १८ अर्ब पुग्यो

कम्पनीका सीडीएमए तथा वाईम्याक्स सेवातर्फका ग्राहकलाई फोरजी एलटीई सेवामा रूपान्तरण गर्ने कार्यलाई तीब्रता दिइएको छ । स्थानीय सेवातर्फ तामाको तारलाई फाइबर नेटवर्कले प्रतिस्थापन गर्ने कार्यलाई तीब्रताका साथ अगाडि बढाइएको छ ।’

चौधौं साधारण सभाले पारित गरे बमोजिमको नगद लाभांश रकम आजैदेखि (चैत २४ गते) देखि सेयरधनीहरुलाई वितरण गर्ने व्यवस्था गरिएको छ । त्रिभुवन आर्मी अफिसर्स क्लबमा सम्पन्न भएको साधारण सभाबाट आर्थिक वर्ष २०७७/७८ को मुनाफा रकम मध्येबाट कम्पनीका सेयरधनीहरुलाई प्रत्येक १०० कित्ता सेयर बराबर २० कित्ताको अनुपातमा बोनस सेयर र प्रतिसेयर २० रुपैयाँ दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित भएको हो ।

लाभांश पारित भएसँगै कम्पनीको जारी तथा चुक्ता पूँजी १८ अर्ब पुगेको छ । सभाले पूँजी वृद्धि हुने भएपछि जारी तथा चुक्ता पूँजी पनि १८ अर्ब पुर्‍याउने प्रस्ताव पारित गरेको छ । साधारण सभामा करिब ९२ प्रतिशत सेयरधनीहरुको उपस्थिति रहेको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २४ चैत्र २०७८, बिहिबार  १९ : १४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।