नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (टेलिकम) ले चुक्ता पूँजीको २० प्रतिशतले हुन आउने ३ अर्ब रुपैयाँ बराबरको नगद लाभांश वितरण सुरु गरेको छ ।
कम्पनीको चैत २४ गते बिहीबार सम्पन्न १४ औं वार्षिक साधारण सभाबाट पारित भएको उक्त नगद लाभांश कम्पनीले सेयर रजिष्ट्रार एनएमबी क्यापिटल लिमिटेड मार्फत भोलिपल्टै (चैत २५ गते शुक्रबार) देखि नै वितरण थालेको हो ।
टेलिकमले वितरण गर्ने ३ अर्ब रुपैयाँ नगद लाभांशमध्ये २ अर्ब ७० करोड रुपैयाँ सरकारी कोषमा जम्मा हुनेट भने ३० करोड रुपैयाँ बराबरको नगद लाभांश सर्वसाधारण लगानीकर्ता, कर्मचारी लगायतलाई वितरण हुनेछ । टेलिकमको चुक्ता पुँजी १५ अर्ब रुपैयाँ छ । यसमध्ये ९१.४९ प्रतिशत सेयर नेपाल सरकारसँग छ । बाँकी स्वामित्वमा ४.५ प्रतिशत कर्मचारीको, ३.९८ प्रतिशत सर्वसाधारणको र ०.०३ प्रतिशत सेयर नागरिक लगानी कोषको रहेको छ । सरकार र नागरिक लगानी कोषबाहेक बाँकी सबै ८.४८ प्रतिशत सेयर सर्वसाधारणको हो ।

साधारण सभाका लागि बुकक्लोजको अघिल्लो कारोबार दिनसम्म नेप्सेमा सेयर कारोबार भई कायम रहेका सेयरधनीको हितग्राही खातामा अद्यावधिक रहेको बैंक खातामा जम्मा गर्न सुरु गरिएको टेलिकमले जनाएको छ । यसअनुसार बुकक्लोज मितिसम्म कायम रहेका सेयरधनीहरुको हितग्राही खातामा बैंक खाता विवरण अद्यावधिक भएको हकमा कम्पनीले नगद लाभांश वापतको रकम सोही खातामा नै जम्मा गर्नेछ ।
साथै कम्पनीले कागजी सेयर प्रमाणपत्र भएका सेयरधनीलाई सेयर डिम्याट गर्न, हितग्राही खातामा बैंक खाता अद्यावधिक नगराएका लागानीकर्तालाई अद्यावधिक गर्न र धितोबन्धक राखी कर्जा लिएका सेयरधनीको हकमा सम्बन्धीत संस्थाबाट नो अब्जेक्सन लेटर सेयर रजिष्ट्रार एनएमबी क्यापिटलमा पेश गरेपछि मात्रै नगद लाभांश वितरण गरिने जनाएको छ ।
सभाले आर्थिक वर्ष २०७७।७८ बाट प्रतिसेयर २० प्रतिशत बोनस र २० प्रतिशत नै नगद गरी कुल ४० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो । पहिलो पटक बोनस वितरण गरेको टेलिकमको चुक्ता पूँजी बोनसपछि १५ अर्बबाट १८ अर्ब रुपैयाँ पुगेको छ ।
कम्पनीले आव २०७२,७३ सम्म कम्पनीले वितरण गरेको नगद लाभांश लिन बाँकी रहेको सेयरधनीलाई सेयर रजिष्ट्रार एनएमबी क्यापिटल लिमिटेड नागपोखरीमा सम्पर्क गरी संकलन गर्न समेत भनेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया