
सत्तारुढ गठबन्धनमा सहभागि पाँचदलले ठाउँ र अवस्था अनुसार चुनावी तालमेल मिलाएर आगामी स्थानीय निर्वाचनमा पनि तालमेल गरेर अगाडि बढ्ने घोषणा गरेको छ । गठबन्धनले चुनावमा आपसी सहकार्य र परस्पर सहयोगको भावनाले अगाडी बढ्न आह्वान गरेको हाे ।
गठबन्धनले नेपालमा लोकतन्त्र र लोकतन्त्रका मूल्यमा आधारित समाजवादको रक्षा गर्दै नेपाल राष्ट्रको स्वाधिनता, नेपाली जनताको स्वतन्त्रता र उन्नतिका लागि स्थानीय वासिन्दाहरुको कठिनाई हटाउदै तिनका आवश्यकता परिपूर्ति गर्न तालमेल गरेर अगाडि बढ्ने घोषणा गरेको छ ।
अगामी स्थानीय तहको निर्वाचनमा जनसमुदायको व्यापक सहभागिता सहित सफल पार्नका लागि पाँचदलीय गठबन्धनका उमेदवारहरुलाई अमूल्य मत दिई विजयी बनाउन अनुरोध गरेको हो । गठबन्धनले हिजोका सबै आपसी मतभेदलाई पर पन्छाउदै चुनावमा एकअर्कालाई निरन्तर सहयोग गर्ने प्रण समेत गरेको छ ।
लोकतन्त्रको फराकिलो बाटोमा नेपाली जनतालाई स्वतन्त्रता पूर्वक अगाडि बढाउन र नेपाली समाजमा न्याय र समानता कायम गर्न प्रतिगमनलाई परास्त गर्दै नेपाल राष्ट्रको सर्वाङ्गीण र अग्रगामी बिकास र समृद्धि हासिल गर्न पाँचदल प्रतिबद्ध रहेको संयुक्त विज्ञप्तीमा उल्लेख छ ।
अनेकौं शहीदहरुको वलिदान र अनगिन्ती सपूतहरुको त्याग, तपस्या, समर्पण र नेपाली जनताको वर्षों देखिको अथक संघर्षले नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र र समाजवाद उन्मुख समावेशी लोकतन्त्र सहितको नयाँ परिवर्तन आएको उल्लेख गरेको छ ।
नयाँ संविधान जारी भएसँगै मुलुक नयाँ युगमा प्रवेश गरेपछि समावेशिता, गणतन्त्र र स्थायित्वको दिशामा मुलुक अगाडि बढेपनि परिवर्तनलाई आत्मसात गर्न नसक्ने र नचाहने कतिपय शक्तिहरु यो परिवर्तनको विरुद्ध अझै पनि षडयन्त्र गरिरहेको गठबन्धनको ठहर रहेको छ ।
देशको संविधानको उल्लंघन गर्दै संसद माथि निरन्तर प्रहार, अदालत उपर खेलवाड र संवैधानिक अंगहरुमा पैदा गराईएको बेथितिले अहिलेको लोकतान्त्रिक परिवर्तनलाई उल्टाउने दुस्प्रयास रहेको उसको ठहर छ । यही परिवर्तन विरोधी र प्रतिगामी दुराशयबाट देश र लोकतन्त्रलाई जोगाउन पाँचदलिय गठबन्धन प्रसायरत रहेको जनाइएको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया