नेपाल उद्योग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले सरकारका तर्फबाट गर्नुपर्ने सहयोग हुन सक्यो भने मुलुक छिटो आर्थिक मार्गमा अगाडि बढ्ने मेरो विश्वास व्यत्तः गरेका छन् ।
संघको ५६ औं वार्षिक साधारण सभा एवं उद्योग वाणिज्य दिवसको उद्घाटन समारोह बोल्दै उनले सस्तो श्रम, संसार वुुझेको यूवा जनशक्ति र भारत चीनका साथै आफ्नै देशको विशाल बजार नेपालका लगानीका महत्वपूर्ण आधार रहेको बताए । लगभग ५७ प्रतिशत काम गर्न सक्ने उमेर समूहका जनता रहेको नेपालसंग जनसाङखिक लाभको अधिक सुविधा रहेको बताए ।
मन्तव्यका क्रममा उनले नोपलसँग साढे ६ महिनाको आयात धान्न पर्याप्त विदेशी मुद्राको सञ्चिति रहेकाले सबै मिलेर संकट समाधानका लागि पहल गर्नुपर्ने धारणा राखे । अबका दिनमा रकम सकिने मात्रै नभई रेमिट्यान्स आप्रवाहबाट रकम पनि आउने भएकाले नेपाल श्रीलंका हुन्छ भनेर आत्तिनु नपर्ने बताए । उनको मन्तव्य यस्तो छः-

निजी क्षेत्रको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को ५६ औं वार्षिक साधारण सभा एवं उद्योग वाणिज्य दिवसको उद्घाटन समारोहमा प्रमुख अतिथि सहित सम्पूर्ण उपस्थित अतिथिगणमा महासंघका तर्फबाट म हार्दिक आभार प्रकट गर्दछु ।
…हाम्रा अध्यक्षज्यूको यसअघिको स्वागत मन्तव्यमा समग्र निजी क्षेत्रको धारणा प्रस्तुत भएकै छ, मुलुकको अर्थतन्त्रलाई संकटबाट जोगाउन एफएनसीसीआईका तर्फबाट भएका भरमग्दुर प्रयासहरुका बारेमा आएकै छ । तैपनि समयको भरपुर उपयोग गर्दै केही महत्वपूर्ण विषयहरुलाई यस गरिमामय समारोहमा राख्ने जमर्को गर्नेछु ।
हाम्रै जीवनकालमा हामी निकै ठूला ठूला घटनाका प्रत्यक्ष साक्षी भयौं । ठूलठूला राजनीतिक परिवर्तन देखि भुकम्प तथा कोरोना महामारिको सामना गरयौं । कोभिडको कहाली लाग्दो परिस्थितिको सामना गरयौं । जनतालाई साथ दिने कुरामा एफएनसीसीइआईले सरकारसंग साथै रहेर सहयोग गरयो । हामीले आम सर्वसाधारण जनताको साथ छोडेनौ, सकेको सहयोग गरयौं । मेरै नेतृत्वमा महासंघमा स्थापना भएको कोभिड रिलिफ कार्यक्रमबाट हामीले दोस्रो लहरका समयमा हामीले सकेको सहयोग गर्न सक्यौ । हामीले आइसोलेसन केन्द्र देखि औषधिमूलो, स्वास्थ्य परामर्शको व्यवस्थापनमा सहयोग गर्यौ ।
चालु आर्थिक बर्षको शुरुदेखि अर्थतन्त्रमा अभूतपूर्व सुधार देखिएको थियो । अत्यधिक मागलाई नेपालको वित्तिय क्षेत्रले धेरै समय थेग्न सकेन । स्वभाविक रुपमा कर्जा प्रवाह बढ्यो । माग हुदा आयात बढनु पनि स्वभाविक थियो । रेमिट्यान्स आप्रवाहमा केहि कमी आयो । यसले भुक्तानी सन्तुलनमा चाप परेको छ । विदेशी मुद्राको सञ्चिति साढे ६ महिनाको आयात धान्न पर्याप्त छ । अबका दिनमा रकम सकिने मात्रै होइन् । रकम आप्रवाह पनि त हुन्छ नि । त्यसैले श्रीलंका हुन्छ भनेर आत्तिनु पर्दैन । सुधार हुुन्छ, हामी सबैं मिलेर सुधार गर्ने हो । एक अर्कालाई गाली नगरौ । महासंघको पदाधिकारी, कार्यकारिणी समिति सदस्य लगायत सम्पूर्ण सदस्यहरु हामी जिम्मेवार नागरिक हौ । हाम्रो भनाइको अर्थ रहन्छ । सबै मिलेर संकट समाधानका लागि पहल गर्नुपर्छ ।
हाम्रा केहि समस्या पनि छन् । हामीसँग बलियो आधार पनि छ । सस्तो श्रम, संसार वुुझेको यूवा जनशक्ति र भारत चीनका साथै आफ्नै देशको विशाल बजार लगानीका महत्वपूर्ण आधार हुन् । अलिकति सरकारका तर्फबाट गर्नुपर्ने सहयोग हुन सक्यो भने मुलुक छिटो आर्थिक मार्गमा अगाडि बढ्ने मेरो विश्वास छ । लगभग ५७ प्रतिशत काम गर्न सक्ने उमेर समूहका जनता रहेको नेपालसंग जनसाङखिक लाभको अधिक सुविधा छ । यूवा जनसंख्याको बाहुल्यता यसको सशक्त पक्ष हुन् । तर अब हामीले अवका केही वर्षहरुभित्र यसको भरपुर उपयोग गर्न सकेनौ भने हाम्रा लागि अझबढी कठिनाईका दिन आउने छन् । यसका लागि, खासगरी हाम्रा यूवा जनशक्ति सूचना प्रविधिसंग अभ्यस्त छ । पछिल्लो आकंडाले पनि त्यसलाई पुष्टि गर्छ । सरकारको गत सालको आर्थिक सर्भेक्षण अनुसार आर्थिक वर्ष २०७७/७८ सम्म ८२.८ प्रतिशत जनसंख्यामा इन्टरनेट सेवा पुुगेको छ । लगभग ४ करोड मोवाइल फोन प्रयोगमा छन् ।
एफएनसीसीआईले मुलुकको अर्थतन्त्रको विस्तार, रोजगारी सृजना, निर्यात प्रवद्र्धन, व्यापार घाटा न्युनिकरणको उपाय सहितको भिजन पेपर अघिल्लो सालनै सार्वजनिक गरीसकेको छ । भिजन पेपरले राखेका लक्ष्यलाई पुरागर्ने कार्यमा हामीले सरकारको वलियो र साथ सहयोग खोजेका छौं । भिजन पेपर कार्यान्वयनमा सरकारकातर्फबाट सहयोग हुने विश्वास पनि दिलाइएको छ, हामी उत्साहित भएका छौं । पटक पटकका लगानी सम्मेलन, नीतिगत सुधारमा जोड, सवै राजनीतिक दलहरुको आर्थिक एजेण्डामा एकमत, अन्तराष्ट्रिय आर्थिक मन्चहरुमा प्रतिवद्धता, विकासमा निजी क्षेत्रको सहभागिता, निर्यातमुखी वृद्धिमा जोड, विश्वव्यापीकरण र भूमण्डलीकरणमा प्रतिवद्धता रहंदा रहदै पनि लगानी आकर्षणमा भने नेपाल निकै नै पछाडि परेको छ ।
हामी साधारण सभाको समुद्घाटन पश्चातका विशेष सत्रहरुमा लगानी, उद्योग, तरलताका विषयहरुमा छलफल चलाउँदै छौं । वाह्य लगानीका विषयमा विशेष सत्र नै आयोजना गरेका छौं । यसपछिका सत्रहरुबाट आउने सुुझावहरुले मुलुकभित्र लगानी आकर्षण, उद्योग व्यवसायको विस्तार र हालको तरलताको समस्या समाधानमा एउटा स्पष्ट मार्ग निर्देश गर्ने हाम्रो अपेक्षा छ । हाम्रा केहि समस्या पनि छन । जस्तो कि बिजुली नियमित छैन । लामो समयदेखि पिपिए रोकिएको छ । यसले उत्पादनमा समस्या आइरहेको छ । यस वर्षको बजेटमा जलविद्युतमा दिइएको छुट स्वदेशी लगानीकर्तालाई पनि उपलब्ध हुनुपर्छ । पर्यटन पुर्वाधारमा सरकारी सहुलियत आवश्यक छ । पहुचमार्ग देखि राजस्व छुट यसमा आवश्यक छ ।
चलचित्र लगायत मनोरन्जन क्षेत्रको पुनरुत्थानका लागि राजस्व छुट लगायत सुविधा आवश्यक छन् । कर छुट, चलचित्र परियोजना कर्जा, विद्युत सहुलियत एवं चलचित्र र पर्यटन उद्योगको सहकार्यमा सरकारले जोड दिनुपर्छ ।
पर्सिबाट हामी नयाँ सालमा प्रवेश गर्दैछौं । २०७८ साल देशकै लागि अत्यन्त कष्टमय भयो । नयाँ साल २०७९ मा मुलुक सहजतातर्फ अगाडि बढोस्, यहाँहरु सबैको आर्थिक व्यवसायिक सफलता एवं देश समृद्धिको कामना सहित नयाँ वर्षको हार्दिक मंगलमय शुभकामना ।
(नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को ५६ औं वार्षिक साधारण सभा एवं उद्योग वाणिज्य दिवसको उद्घाटन समारोहमा बरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले दिएको मन्तव्यको सम्पादित अंश )











प्रतिक्रिया