एनआईसी एशियाको लाभांश पारित भएसँगै नगद खातामा पठाउन सुरु

0
Shares

एनआईसी एसिया बैंकको शुक्रबार सम्पन्न २२ औं वार्षिकस साधारण सभाले गत आर्थिक बर्षको प्रस्तावित २१.०५२ प्रतिशत लाभांश पारित गरेको छ । लाभांश पारित भएसँगै शेयरधनीको बैंक खातामा नगद पठाउन समेत सुरु गरेको बैंकले जनाएको छ ।

साधारण सभाले ११.०५२ प्रतिशत नगद र १० प्रतिशत बोनस शेयर गरी कुल २१.०५२ प्रतिशत लाभांश वितरणको प्रस्ताव अनुमोदन गरेको हो । बैंकले ८८ करोड ३४ लाख २२ हजार ८ सय ७० रुपैयाँ बराबरको बोनस शेयर र ९७ करोड ६४ लाख १४ हजार ७ सय ५१ रुपैयाँ बराबरको नगद लाभांश (कर प्रयोजनार्थ समेत) वितरण गर्नेछ ।

साधारण सभा प्रयोजनका लागि बैंकले भदौ २९ गतेदेखि असोज १० गतेसम्म बुक क्लोज गरेको थियो । भदौ २८ गतेसम्म कायम बैंका शेयरधनीले उक्त लाभांश पाउनेछन् ।

साथै बैंकले एनआईसी एसिया बैकमै डिम्याट खाता खोलेका शेयरधनीलाई शुक्रबार (आजैबाट) नगद लाभांश खातामा पठाउन सुरु गरिएको जनाएको छ । डिम्याट खाता नहुनेले तत्काल बैंकको शेयर रजिष्ट्रार एनआइसी एसिया क्यापिटल लगायत एनआइसी एसिया बैंकको नजिकैको शाखा कार्यालयमा सम्पर्क गर्न समेत अनुरोध गरेको छ ।

त्यस्तै साधारणसभाले आर्थिक वर्ष २०७५–७६ को नाफा नोक्सान सम्बन्धी हिसाबकिताब तथा साधारण सभामा पेश गरिएका अन्य एजेन्डाहरु पनि अनुमोदन भएको छ । त्यसै गरी सभाले आफ्नो सहायक कम्पनी एनआइसी एशिया लद्युवित्त वित्तीय संस्था लिमिटेड र एनआइसी एशिया क्यापिटल लिमिटेडको आव २०७५र७६ को वित्तिय विवरणलाई पनि पारित गरेको छ । सभाले आर्थिक वर्ष २०७५/७६ को लागि लेखापरिक्षकमा टिआर उपाध्याय एण्ड कम्पनीलाई नियुक्त गरेको छ ।

हाल बैंकको चुक्ता पूँजी ८ अर्ब ८३ करोड ४२ लाख २८ हजार रुपैयाँ छ । बोनसपछि चुक्ता पूँजी ९ अर्ब ७१ करोड ७६ लाख ५० हजार रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षमा बैंकले ३ अर्ब ५ करोड ५५ लाख रुपैयाँ खुद नाफा कमाएर प्रतिशेयर आम्दानी ३४ रुपैयाँ ५६ पैसा कायम गरको थियो ।