साढे १०% ब्याज पाइने सेञ्चुरी बैंकको ऋणपत्रमा जेठ ४ गतेसम्म आवेदन खुला रहने

0
Shares

सेञ्चुरी कमर्सियल बैंक लिमिटेड ले बैशाख २१ गते बुधबारदेखि बिक्री खुला गरेको २ अर्ब २० करोड रुपैयाँ बराबरको ऋणपत्रमा जेठ ४ गतेसम्म आवेदन दिन सकिने भएको छ ।

बैंकको ऋणपत्रमा छिटो समयमा सबै ऋणपत्र खरीदका लागि माग नपरेपछि समय थप गरिएको हो । यससँगै अब लगानीकर्ताले जेठ ४ गते आइतबारसम्म आवेदन दिन सक्नेछन् ।

सेञ्चुरी बैंकले प्रतिइकाई १ हजार रुपैयाँ अंकित दरमा २ अर्ब २० करोड रुपैयाँ बराबरको कुल २२ लाख इकाइ ऋणपत्र जारी गरेको हो । दश वर्ष अवधिको ‘सेञ्चुरी डिबेन्चर २०८८’ मा बैंकले लगानीकर्तालाई बैंकले वार्षिक १०.५० प्रतिशत ब्याजदर प्रदान गर्नेछ । ऋणपत्रको ब्याज अर्धवार्षिक रुपमा भुक्तानी हुनेछ ।

बैंकले निष्कासन गरेको ऋणपत्रमध्ये ४० प्रतिशत बराबरको ८ लाख ८० हजार इकाई (म्युचुअल फण्डलाई छुट्याएको १० हजार कित्ता सहित) सर्वसाधारणका लागि खुला भएको हो । बाँकी रहेको ६० प्रतिशत अर्थात् १३ लाख २० हजार इकाई बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्ने छ ।

ऋणपत्रमा लगानीकर्ताले मेरो सेयरको मोबाइल एप तथा सफ्टवेयरमार्फत अनलाइनबाट आवेदन दिन सक्नेछन् । यस्तै नेपाल धितोपत्र बोर्डबाट सी–आस्वा सदस्यता स्वीकृत प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट पनि आवेदन दिन सकिनेछ । ऋणपत्र खरीदका लागि न्यूनतम २५ इकाईको लागि २५ हजारदेखि देखि अधिकतम ८ लाख ७० हजार इकाईको लागि ८७ करोड रुपैयाँसम्म आवेदन दिन पाइनेछ ।

ऋणपत्र निष्काशन गर्न बैंकले पूँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट चैत २९ गते अनुमति पाएको थियो ।
बैंकको ऋणपत्रको निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २५ बैशाख २०७९, आइतबार  ०९ : ३९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।