हिमालयन डिष्टिलरीको पूँजी अनुपातमा नाफा नबढेपछि इपिएस घट्यो

0
Shares

हिमालयन डिष्टिलरी लिमिटेड (HDL) ले खुद नाफा बढापनि पूँजी वृद्धिको अनुपातमा नाफा बढाउन नसकेपछि कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी ६९.२२ रुपैयाँमा झरेको छ ।

अघिल्लो अवको यसै अवधिमा १०३.३८ रुपैयाँ रहेको कम्पनीको इपिएस चालु आवको यसै अवधिमा ३४.१६ रुपैयाँले घटेको होे । यद्यपी कम्पनीले आम्दानीका अधिकांश सूचकमा सुधार गरेको छ । कम्पनीको नाफा तेस्रो त्रैमाससम्म ७८ करोड ८३ लाख २४ हजार रुपैयाँ पुगेको छ । गत आवको यसै अवधिमा ६७ करोड २७ लाख ४४ हज।र रुपैयाँ खुद नाफा आर्जन गरेकोमा १७.१८ प्रतिशतको वृद्धि भएको हो ।

विदेशी मुद्राको संचिती घट्दो अवस्थामा रहेकोले मदिरा उद्योगको उत्पादनमा प्रयोग हुने प्याकेजिङ्ग सामाग्रीहरुः, बोतल, क्यापका साथै माल्ट स्प्रिट जस्ता वस्तुहरु विदेशवाट नै आयात गर्न पर्ने भएको हुँदा यथास्थीतिमा यस्ता वस्तुहरु आयत गर्न कठिनाई भएको हुनाले कम्पनीको नियमित उत्पादन कार्यमा अवरोध आईपरेको कम्पनीले जनाएको छ ।

अपरिष्कृत वित्तीय विवरण अनुसार चैत मसान्तसम्ममा कम्पनीको प्रतिसेयर नेटवर्थ १६९.६४ रुपैयाँ र मूल्य आम्दानी अनुपात ५१.८८ गुणा छ । समीक्षा अवधिमा कम्पनीको बिक्री आम्दानी ३०.२० प्रतिशत बढेर ५ अर्ब १८ करोड ७८ लाख पुगेको छ भने कुल नाफा २०.३६ प्रतिशत वृद्धि हुँदै १ अर्ब ७५ करोड ९३ लाख रहेको छ । कम्पनीके सञ्चालन नाफा सञ्चालन नाफा १ अर्ब ९ करोड ६६ लाख रुपैयाँ रहेको छ । समीक्षा अवधिमा सञ्चालन नाफा १४.७५ प्रतिशत बढेको हो ।

कम्पनीको बिक्री बढ्न गएकोले बिक्री तथा वितरण खर्चमा समेत केहि वृद्धि हुन पुगेको भएता पनि प्रशासनिक तथा वित्तिय खर्च तर्फ मितव्ययिता अपनाइएकाले उक्त खर्च घटाउन सफल भएको छ । उद्योगमा काम गर्ने श्रमिकहरुको व्यवसायजन्य सुरक्षा र स्वास्थ्य प्रति सजगता अपनाई कार्य गर्ने गरिएको साथै उत्पादित वस्तुको गुणस्तर प्रति उच्च सम्वेदनशिलता अपनाउने कार्य गर्ने गरेको छ ।

गत आवको नाफाबाट ७५ प्रतिशत बोनस र २५ प्रतिशत नगद लाभांश वितरण गरेको कम्पनीको चुक्ता पूँजी १ अर्ब ५१ करोड ८४ लाख ७९ हजार रहेको छ । यस्तै कम्पनीको जगेडा तथा कोषमा १ अर्ब ५ करोड ७४ लाख रुपैयाँ सञ्चित छ । समीक्षा अवधिमा जगेडा कोष ३७.६५ प्रतिशतले बढेको हो ।

कम्पनीले उत्पादन गरेको गोल्डेन ओक नामक मदिरा उपभोक्ताहरुको रोजाईमा परी कम्पनीको मुख्य बिक्री हुने मदिराको रुपमा पहिचान बनाएको छ । यसैगरी कम उत्पादन गरेको ब्ल्याक ओक नामक मदिराको पनि बजारबाट साविकको भन्दा माग वृद्धि भई रहेकोले उक्त ब्राण्डको मदिरा समेत उपभोक्ताबीच लोकप्रिय बन्नेमा कम्पनी विश्वस्त रहेको जनाएको छ । उपभोक्ताहरुको चाहनालाई ध्यानमा राखी कम्पनी व्यवस्थापनले अर्को नयाँ ब्राण्ड ब्लू ओक नामक मदिरा समेत उत्पादन गरी बजारमा बिक्री वितरण कार्य गर्दै आएको छ ।

बजारमा विभिन्न कम्पनीले यस कम्पनीबाट उत्पादन तथा बिक्री वितरण भई उपभोक्ता बीच पहिचान समेत गराई सकेको गोल्डेन ओक र ब्लायक ओक नामक मदिरा नक्कल गरी उस्तै बोतल र लेवल समेत प्रयोग गरी मदिरा उत्पादन तथा बिक्रि वितरण गर्ने कार्य भई रहेकोले उल्लेखित यस कम्पनीका मदिराको बिक्री वितरणमा केहि प्रभाव पर्न सक्ने चुनौति देखेको छ ।

बैंकिङ क्षेत्रमा रहेको तरलता संकुचनको अवस्थाले गर्दा बजारमा बिक्री वितरण भएका मदिराको भुक्तानी कम्पनीले उपलब्ध गराएको समय भित्रै प्राप्त गर्न कठिनाई भईरहेको परिस्थितीमा यथेष्ठ मात्राको लगानी गर्न नसकेमा कम्पनीबाट गरिने उत्पादन र बिक्री वितरणको कार्यमा प्रभाव पर्नसक्ने चुनौती थपिएको छ । कच्चा पदार्थ, प्याकेजिङ्गका सामाग्री तथा ढुवानी खर्चमा हुन आएको वृद्धिले गर्दा अब आउने अवधिको मुनाफामा प्रभाव पर्न सक्ने आंकलन कम्पनीको छ ।

कम्पनीले उत्पादन गरि रहेको र बजारमा उपभोक्ताले बढि रुचाएको गोल्डेन ओक र ब्लइाक ओक नामक ब्राण्डको मदिराको बिक्री वितरणलाई प्रभाव पार्न र उपभोक्तालाई भ्रममा पारी आफूलाई आर्थिक फाईदा लिनका लागि बजारमा उस्तै लेवल, बोतल प्रयोग गर्ने, कम शक्ती र कम गुणस्तरको मदिरा उत्पादन गरि बिक्री वितरण गर्ने कार्य जारी नै रहेकोले यस कम्पनीले उत्पादन गरी बजारमा बिक्री वितरण भई रहेका उल्लेखित ब्राण्डहरुका मदिराको ख्यातिमा असर पर्ने कम्पनीले वित्तीय विवरणमा औंल्याएको छ ।

साथै कम्पनीको ट्रेडमार्क अंकित बोतलहरु प्रयोग गर्ने, सक्कली गोल्डेन ओक जस्तै लेबल बनाई विभिन्न नाम दिई उत्पादन गरी कम शक्ती र कम गणस्तरको मदिरा बिक्री वितरण गर्ने कार्यले कम्पनीको उल्लेखित ब्राण्डहरुको मदिराको पहिचान यथावत राख्नका कम्पनी समक्ष थप चुनौति थपिएको कम्पनीले जनाएको छ ।

डुप्लिकेट उत्पादनले निरन्तरता पाउने हो भने नेपाल सरकार लाई प्राप्त हुने राजश्वमा पनि प्रभाव पर्ने देखिन्छ । यदि नेपाल सरकारले आगामी वर्षको बजेट मार्फत् मदिरामा लाग्ने अन्तः शुल्क दर वृद्धि गरेमा यस कम्पनिले उत्पादन गर्ने मदिराहरुको उपभोक्ता मुल्य समेत वृद्धि हुनसक्ने हुनाले तिनको मागमा नकारात्मक असर पर्न जाने देखिन्छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: २५ बैशाख २०७९, आइतबार  १० : ३६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।