एचआईडिसीएलले ९ महिनामा कमायो साढे ६९ करोड खुद नाफा, साढे ६ अर्ब ऋण लगानी

0
Shares

हाइड्रो इलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड ( एचआईडिसीएल) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ६९ करोड ६१ लाख ४७ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।

गत आवको यसै अवधिमा ६३ करोड ८९ लाख रुपैयाँ खुद नाफा कमाएको कम्पनीले ८.९४ प्रतिशत धेरै नाफा आर्जन गरेको हो ।

गत आवको यसै अवधिको तुलनामा चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा कम्पनीले ग्राहकसँगको सम्झौताबाट भएको आम्दानी ६६३.३८ प्रतिशत, वित्तीय आम्दानी ९.६० प्रतिशत, लाभांश आम्दानी ३१.३३ प्रतिशत र अन्य आम्दानी ११४.३८ प्रतिशत बढाएको हो । कम्पनीको चुक्ता पूँजी समीक्षा अवधिमा १३.३३ प्रतिशत र जगेडा कोषको आकार ८७.७० प्रतिशत बढेको छ ।

अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीले चैत मसान्तसम्म कम्पनीले १ अर्ब ८ करोड २६ लाख २९ हजार रुपैयाँ वित्तीय आम्दानी आम्दानी गरेको छ । यस्तै १ करोड ४१ लाख ४८ हजार रुपैयाँ लाभांश आम्दानी, ग्राहकसँगको सम्झौताबाट २१ लाख ६८ हजार र ३ लाख ४३ हजार रुपैयाँ अन्य आम्दानी गरेको छ ।

सार्वजनिक विवरण अनुसार कम्पनीको चुक्ता पूूँजी १८ अर्ब ७० करोड रुपैयाँ, जगेडा कोषमा २ अर्ब ९५ करोड ६३ लाख रुपैयाँ, प्रतिसेयर आम्दानी ४.९६ रुपैयाँ, प्रतिशेयर नेटवर्थ १०७.२३ रुपैयाँ र मूल्य आम्दानी अनुपात ५२.४१ गुणा छ ।

चैत्र मसान्तसम्ममा साढे ६ अर्ब ऋण लगानी, पछिल्लो तनि महिनामा मात्रै डेढ अर्ब लगानी

आर्थिक वर्ष २०७८।७९ को चैत्र मसान्तसम्ममा कम्पनीले जलविद्युत परियोजनामा ६ अर्ब ४० करोड ऋण प्रवाह भएको छ । यस त्रैयमासिक अवधिमा मात्र कम्पनीले १ अर्ब ५८ करोड थप ऋण प्रवाह गरेको हो ।

यसका साथै एचआईडिसीएलले २०७८ चैत मसान्तसम्मको अविधसम्ममा स्वःपूँजी लगानी अन्तर्गत सहायक कम्पनी तथा निजी क्षेत्रबाट प्रवद्र्धित जलविद्युत परियोजनामा २ अर्ब १३ करोड ६६ लाख स्वपूँजी लगानी भएको छ । यस त्रैयमासिक अवधिमा मात्र २६ करोड ७६ लाख थप सेयर लगानी गरिएको कम्पनीले जनाएको छ ।

समीक्षा अवधिको अन्त्यसम्ममा कम्पनीले एक बरारबर एक अनुपातमा हकप्रद सेयर निष्काशन मार्फत् सर्वसाधरण सेयरधनी समूहबाट कम्पनीले २ अर्ब २० करोड सेयर पूँजी संकलन गरेको छ । साथै सर्वसाधारण सेयरधनी समूह अन्तर्गतको हकप्रद सेयर लिलाम गरी सेयर प्रिमियम बापत् ५० करोड ४० लाख रकम संकलन गरेको छ ।

त्यसैगरी संस्थापक सेयरधनी समूह तर्फको ३ अर्ब ३० करोड बराबरको अवितरित हकप्रद सेयरको लिलाम बढाबढ प्रकृया मार्फत बिक्री गर्ने प्रकृया अघि बढाइएको छ । कम्पनीले समीक्षा अवधिको अन्त्यसम्ममा गत वर्षको सोहि अवधिको तुलनामा कर अघिको मुनाफामा ८.८३ प्रतिशतले वृद्धि गरेर ९८ करोड ८४ लाख रुपैयाँ आर्जन गरेको छ ।

दशौं वार्षिक साधारण सभाबाट कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गरी कम्पनीले जलविद्युतको क्षेत्रका अलावा अन्य नवीकरणीय उर्जासँग सम्बन्धित परियोजनामा लगानी गर्न सक्ने व्यवस्था गरेको छ । साथै, लगानी सम्बन्धी केहि नीतिगत सुधारहरु समेत गरिएको छ । नेपाल राष्ट्र बैंकले मिति २०७८ माघ १६ गते सार्वजनिक सूचना प्रकाशन गरी बैंक तथा वित्तीय संस्थाको ऋण असूली ऐन, २०५८ (संशोधन सहित) को दफा ३ (घ) बमोजिम यस कम्पनीलाई उक्त ऐनको व्यवस्था लागू हुने संस्थाको रुपमा तोकेको छ । यस व्यवस्थाबाट कम्पनीको ऋण असूलीका लागि कानूनी आधारशिलाको निर्माण भएको कम्पनीले उल्लेख गरेको छ ।

चुनौति के के छन् ?

कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार लगानी गरिएका जलविद्युत आयोजनाहरुको लक्ष्य अनुसारको भौतिक प्रगति प्राप्त नभएको जनाएको छ । जसका कारण कम्पनीले प्रतिबद्धता गरे अनुसारको लगानी प्रवाह हुन सकेको छैन । यसले ट्रेजरी व्यवस्थापन गर्न कठिन भएको कम्पनीले जनाएको छ ।

यसैगरी कच्चा पदार्थको अभाव, दक्ष जनशक्तिको अभाव, आयातमा निर्भर उपकरणहरु, विदेशी विनिमय तथा कोभिड महामारीको जोखिमले गर्दा जलविद्युत आयोजनाहरुको निर्माण लागत वृद्धि हुन सक्ने र निर्माण अवधि लम्बिन गई वित्तीय सूचकहरुमा नकारात्मक प्रभाव पर्न सक्ने चुनौति विद्यमान रहेको छ ।

यस्तै प्रसारण लाइनको अभावले गर्दा कम्पनीबाट स्वःपूजी र ऋण लगानी भएका आयोजनाबाट उत्पादित विद्युत बिक्री वितरण गर्न नसकिने अवस्था सृजना भई कम्पनीको आय र प्रतिफलमा असर पर्न सक्ने कम्पनीको आंकलन छ ।

कम्पनीको सेयर पूँजीको अनुपातमा अन्य स्रोतबाट वित्तीय साधन परिचालनको माध्यमबाट जलविद्युत आयोजनाहरुमा लगानी अभिवृद्धि गरी सेयरधनीलाई उपयुक्त प्रतिफल प्रदान गर्ने र कम्पनीको कार्य प्रकृति र आवश्यकता अनुसार स्थायी प्रकृतिको दक्ष जनशक्ति आपूर्ति गरी संस्थागत क्षमता र प्रभावकारिता अभिवृद्धि गर्ने कार्यमा पनि कम्पनीले चुनौति रहेको उल्लेख गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: २७ बैशाख २०७९, मंगलबार  ०९ : ४६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।