विद्युत नियमन आयोगद्धारा राधी विद्युतको हकप्रद स्वीकृत, निर्णय भएको ९ दिनपछि जानकारी


विद्युत नियमन आयोगले राधी विद्युत कम्पनीलाई हकप्रद सेयर निष्काशन गर्न अनुमति दिएको छ । आयोगले कम्पनीलाई हाल कायम चुक्ता पूँजीको १४७.५२ प्रतिशत हकप्रद निष्काशनको अनुमति दिएको हो । आयोग सञ्चालक समितिको बैशाख १९ गते बसेको बैठकले कम्पनीलाई हकप्रद सेयर निष्काशन गर्न अनुमति दिने निर्णय गरेको थियो ।

आयोगले हकप्रद निष्काशनका लागि स्वीकृति दिने भनी निर्णय गरेको ९ दिन पछि मात्र उक्त सूचना सार्वजनिक भएको हो । यस विषयमा आयोगले बैशाख २३ गते कम्पनीलाई पत्र पठाएर जानकारी दिएकोमा कम्पनीले बैशाख २७ गते दिनको साढे ३ बजे व्यहोरा अवगत भएको भन्दै नेप्सेमा २७ गते सूचना पठाएको हो ।

आयोगका अनुसार कम्पनीको चुक्ता पूँजी ६४ करोड ६४ लाख ४ हजार ६२२ रुपैयाँको १४७.५२ प्रतिशतले हुने ९५ करोड ३५ लाख ७६ हजार ९९ रुपैयाँको हकप्रद सेयर निष्काशनका लागि अनुमति दिइएको हो ।

कम्पनीले आयोगले राखेका शर्त पूरा गर्ने अवस्थामा मात्र उक्त हकप्रद निष्काशन गर्न सक्ने व्यवस्था गरेको छ । जसमा नियम अनुसार कार्यसम्पादन गर्नुपर्ने, लाभकर तिर्नुपर्ने भए तिर्नुपर्ने, आयोगले जारी गरेको निर्देशिका पालना गर्नुपर्ने तथा संस्थागत सुशासन कायम भएको हुनुपर्ने, हकप्रद वापतको रकम सम्बन्धित आयोजनामा मात्र लगानी गर्नुपर्ने लगायतका शर्त राखेर हकप्रद स्वीकृत गरिएको आयोगले जनाएको छ ।

अब कम्पनीले हकप्रद निष्काशनका लागि धितोपत्र बोर्डमा आवेदन दिनेछ । बोर्डले हकप्रद निष्काशनका लागि स्वीकृति दिएपछि मात्र कम्पनीले हकप्रद निष्काशन गर्नेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।